सन्दीपले स्टारडमको दुरुपयोग गरेको अदालतको ठहर (पूर्णपाठ सहित)



काठमाडौँ । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेले आफ्नो ख्याति ९स्टारडम० को दुरुपयोग गरेर बलात्कार गरेको ठहर गरेको छ ।न्यायाधीश शिशिरराज ढकालको इजलासले २५ पुस, २०८० मा गरेको फैसलाको पूर्ण पाठमा क्रिकेट खेलेर बनाएको व्यक्तित्वको दुरुपयोग गरी पीडितको कमजोर अवस्थाको फाइदा उठाएको ठहर गरेको हो ।

जिल्ला अदालतले यो मुद्दाको फैसलाको पूर्ण पाठमा बलात्कार भएको हो कि होइन र पीडित बालिग हुन् कि होइनन् भन्ने विवाद निरूपण गरेको छ । त्यस क्रममा सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । त्यस्तै पीडितलाई जरिवाना बराबरको ३ लाख र सन्दीपबाट थप २ लाख भराउने गरी ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला पनि गरेको थियो ।

जिल्ला अदालतले असमान शक्ति सम्बन्धका कारण कमजोर व्यक्तिहरू सहजै विश्वासमा पर्ने भन्दै पीडित गौशाला–२६ माथि त्यही भएको ठहर गरेको छ ।असमान शक्ति सम्बन्धमा कमजोर व्यक्तिहरू अर्कोप्रति सहज रूपमा विश्वासमा परेको एक नजिर उल्लेख गर्दै जिल्ला अदालतले कुनै क्षेत्र विशेषका ख्याति प्राप्त व्यक्ति र समर्थकबिच पनि यस्तो सम्बन्ध हुनसक्ने उल्लेख गरेको छ ।

‘यस्ता निर्बल व्यक्तिलाई अर्को पक्षले सहजै दुरुपयोग गर् नसक्ने हुँदा त्यस्ता व्यक्तिहरू यौन जोखिममा रहेका हुन्छन्’ फैसलामा भनिएको छ, ‘यसरी जोखिममा रहेका व्यक्तिसँग हुने यौन क्रियाका सम्बन्धमा मन्जुरीको प्रश्न उठेमा असमान शक्ति सन्तुलनको दृष्टिकोणबाट हेरिनुपर्ने हुन्छ ।’

२०७९ भदौमा भएको उक्त घटनाको भोलिपल्ट पीडित गौशाला २६ सन्दीपको गाडीमा चढेर आफू बस्दै आएको होस्टेल फर्केकी थिइन् । त्यसको केही सातापछि उनीमाथि बलात्कार भएको भन्दै सन्दीपविरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।

सन्दीपका कानुन व्यवसायीले सहमतिमा यौन सम्पर्क भएको, घटनास्थलमा गौशाला २६ बाट प्रतिवादका कुनै प्रमाण नभएको आदि कारण देखाएर बलात्कार भन्न नमिल्ने जिकिर गरेका थिए ।

जिल्ला अदालतले भने अनपेक्षित घटनामा पीडितले प्रतिकार गर्ने अवस्थै नहुने औँल्याएको छ । सोच्दै नसोचेको घटनामा सबैले एकै हिसाबले सुझबुझका साथ प्रतिक्रिया व्यक्त गर्नुपर्ने भन्ने अवस्था नहुने भन्दै जिल्ला अदालतले आफू एक्लो र असुरक्षित अवस्थामा यो घटनामा पीडितले गरेको प्रतिक्रियालाई स्वाभाविक मानेको छ ।

प्रतिकार नगरेकै कारणले अर्को पक्षको मन्जुरी रहेको अनुमान गर्न मिल्दैन । एक पक्षले धम्की दिएको अवस्थामा अर्को पक्ष प्रतिकार गर्न नसकी समर्पण हुनसक्ने अवस्थालाई मन्जुरी मान्न नहुने

आर्थिक रूपमा कमजोर रहेको र आर्थिक भरथेगको आशामा पीडितले सन्दीपलाई भेटेको हुनसक्ने भन्दै जिल्ला अदालतले सन्दीपले त्यस्तो विश्वासको दुरुपयोग गरेको औँल्याएको छ ।

फैसलामा भनिएको छ, ‘बलात्कार मुद्दामा पीडित नै घटनाको आधारभूत गवाह भएको र अन्यथा नभएसम्म पीडितको भनाइ नै सर्वाधिक महत्वको प्रमाण हुने हुँदा पीडितले जबर्जस्ती गरेको भनेको अनि पीडित र प्रतिवादीको असमान हैसियत रहेको देखिएको अवस्थामा करणीको कार्यलाई मञ्जुरीमा भएको भन्न मिल्ने देखिएन ।’

‘करणी गर्ने मनसाय देखियो’

जिल्ला अदालतले यो घटनामा सन्दीपको करणी गर्ने मनसाय देखिएको ठहर गरेको छ । दिनभर नगरकोट घुमेको र बेलुका सिनामंगलस्थित होटल काठमाडौँ इनमा ल्याएर राखेको र पीडित बसेकै कोठामा बस्नुले करणी गर्ने मनसाय देखिएको फैसलाको पूर्ण पाठमा उल्लेख छ ।

‘सन्दीप घटनाको दिनको भोलिपल्ट विदेश जाने योजनामा रहेको देखिन्छ यस्तो अवस्थामा निजले पीडितलाई होटलमा लिएर जानु र आफूलाई तय गरिएको होटलमा नबसी पीडित बसेको कोठामा नै बसेको देखियो’ फैसलामा भनिएको छ, ‘प्रतिवादीको मनसाय पीडितसँग करणी गर्नु रहेको भन्ने अनुमान गर्न सकिन्छ । पीडितले प्रतिवादीलाई फसाउनुपर्ने सम्मको कुनै कारण पनि देखिंदैन ।’

पीडितले ‘सन्दीपले मलाई घरमा छाडिसक्यो’ भनी रुममेटलाई पठाएको म्यासेजलाई सन्दीपको निर्दोषिताको प्रमाण मान्न नसकिने पनि जिल्ला अदालतले उल्लेख गरेको छ ।

जिल्ला अदालतले घटना भएको बेला पीडितको उमेर १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ । विभिन्न कागजातमा उल्लिखित जन्म मिति र पत्राचारहरूको व्याख्या गर्दै जिल्ला अदालतले गौशाला २६ को जन्म मिति १८ असार २०६१ मा भएको किटान गरेको छ ।

गौशाला २६ को कक्षा ८ को प्रमाणपत्र, एसएलसीको ग्रेडसिट, चारित्रिक प्रमाणपत्र, नागरिकको अनुसूची फारममा उनको जन्म मिति १८ जेठ २०६२ उल्लेख छ ।

जिल्ला अदालतले सम्बन्धित स्थानीय तहको वडाको पत्र, पीडितले दिएको निवेदन, जन्मेको भनिएको अस्पतालको पत्र समेतका आधारमा जन्म मिति १८ असार, २०६१ साल हुने भनी व्याख्या गरेको हो ।

जिल्ला अदालतले शैक्षिक प्रमाणपत्रका आधारमा कायम गरिदिएको जन्ममितिका आधारमा अर्को व्यक्तिलाई दायित्व निर्धारण गर्न नहुने औँल्याएको हो ।

उनको उमेर तलमाथि हुँदा अर्को व्यक्तिको दायित्व समेत फरक पर्ने भन्दै जिल्ला अदालतले त्यही आधारमा पीडितको उमेर यकिन गर्नुपरेको उल्लेख गरेको छ । फैसलामा भनिएको छ, ‘पीडितले शैक्षिक प्रमाणपत्र अनुकूल हुनेगरी जन्मदर्ता संशोधन गरेको र त्यसैका आधारमा अरुलाई दायित्व बोकाउन नहुने फेसलामा भनिएको छ ।

सन्दीप लामिछाने क्रिकेट खेल्न विदेश गएर नेपाल आएको देखिएको, उनले न्यायिक प्रक्रियामा सहयोग नै गरेको, पीडितलाई गम्भीर शारीरिक हानि नोक्सानी पुगेको नदेखिएको, पहिलो पटक कसुर गरेको आदि आधार देखाउँदै जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय गरेको हो ।

(पूर्णपाठ सहित)

 

 

प्रतिक्रिया दिनुहोस्