ठगी र किर्ते मुद्दामा सांसद विनोद चौधरीलाई वयानमा वोलाउने सीआईबीको तयारी



काठमाडौँ । बांसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी आज रिहा हुने भएका छन् । काठमाण्डौं जिल्ला अदालतको आदेशअनुसार चौधरीसहित ३ जनालाई सीआईबीले आज छाड्ने तयारी गरेपनि उनिहरुमाथि किर्ते र ठगी मुद्दामा अनुसन्धान जारी नै रहनेछ ।

सीआईबीका एसएसपी दिनेश आर्चायले अदालतको आदेशबमोजिम तीनै जना हाजिरी जमानामा रिहा भएपनि किर्ते र ठगी मुद्दामा भने अनुसन्धान जारी रहने बताए ।

अदालतले अच्चमको फैसला गरेपछि त्यसबाट प्रहरी अधिकारीहरु नै असन्तुष्ट छन् । अरुणलाई रिहा गर्न न्यायाधीशले अवेर राति गरेको फैसलाप्रति कानुन क्षेत्रकै विज्ञहरुले आश्चर्य मानेका छन् ।

बांसबारीको छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोप लागेको च्याम्पियन फूटवेयर कम्पनीमा त्यो बेला कांग्रेसका सांसद समेत रहेका अर्बपति विनोद चौधरीको समेत अरुणसरह नै शेयर हिस्सा रहेकोले उनलाई पनि बयानमा बोलाउने सीआईबीको तयारी छ । चौधरीले आफुमाथिको अनुसन्धान रोक्न विभिन्न शक्तिकेन्द्रबाट दबाव दिइरहेको सीआईबी स्रोतले बतायो ।

चौधरीको नाममा दुई सय कित्ता शेयर देखिएपछि सीआईवीले उनिमाथि बयान लिन लागेको हो । यहीवेला चौधरी पत्नी सारिका चौधरी भने वागेश्वर बावाको दर्शन गर्न आज भारततिर जांने तयारीमा छिन् ।

‘जग्गा हत्याउने मुख्य योजनाकार नै विनोद भएको अनुसन्धानबाट देखिन्छ । हामिले हिजोका दिनमा मन्त्री र पूर्व प्रधानमन्त्रीको समेत वयान लिएका छौं । जतिसुकै दबाव आएपनि हामि उनको वयान लिएर छाड्छौं ।’ सीआईवीको उच्च स्रोतले काठमाण्डुपाटीलाई भन्यो ।

सीआईबीले पक्राउ गरेको अरुणले समेत बयानमा विनोद चौधरीको संलग्नता स्वीकार गरिसकेका छन् । तत्कालिन संचालक समितिका अध्यक्षका नाताले उनको भूमिका रहेको र उनकै योजनामा जग्गा शेयर दिएर किनिएको भन्दै अरुणले सबै कुरा कानूनबमोजिम भएको बयानमा बताएका छन् ।

अरुणले आफ्नो गल्ती प्रमाणित भए जग्गा फिर्ता गर्न तयार रहेको बयानमा भनेका छन् । त्यसले पनि विनोदलाई वयानमा ल्याउनुपर्ने आवाज उठेको छ ।

चौधरीले आफ्ना भाई अरुणलाई सीआईबीले पक्राउ गरेपछि सत्तारुढ कांग्रेसकै प्रभावशाली नेताहरुमार्फत सरकारलाई दबाव बढाएका छन् । उनले प्रधानमन्त्री दाहाललाई समेत भेटेर आफुमाथिको अनुसन्धान रोक्नपर्ने भनेको प्रधानमन्त्री निकट स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्