चौधरीलाई जग्गा फिर्ता गर्न २१ दिनको समय



काठमाडौँ । अर्बपति व्यापारिक घराना चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ताका लागि २१ दिने पत्राचार गरिएको छ। मालपोत कार्यालय डिल्लीबजारले बुधवार साँझ सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पत्राचार गर्दै २१ दिनभित्र जग्गा फिर्ता मालपोत कार्यालयमा उपस्थित हुन पत्राचार गरेको छ।

करिब ३६ वर्षदेखि चौधरी ग्रुपले भोगचलन गरिरहेको १० रोपनी जग्गामा सिआइबीले केही महिनायता अनुसन्धान गर्दै आएको थियो। गत साता सिआइबीले चौधरी ग्रुपका अरुण चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेर बुधवार हाजिर जमानीमा छाडेको थियो।

प्रहरीका अनुसार चौधरी र थापाको मिलेमतोमा सरकारी जग्गा व्यक्तिको भोगचलनमा पुगेको निष्कर्ष निस्किएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्