देशलाई आर्थिक सङ्कटबाट मुक्त गर्न बजेटमा आमूल परिवर्तन गर्ने तयारी 



काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने गरी आफूहरूले काम  गरिरहेको बताएका छन् । शुक्रवार सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विकास तथा योजनासँग सम्बन्धित विज्ञसहितको छलफलमा उनले परम्परागत बजेट प्रणाली देशको रूपान्तरणमा बाधक भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले हरेक वर्ष पुरानै वर्षको ‘फोटोकपी’का रूपमा नयाँ बजेट आउने परिपाटी रहेको उल्लेख गर्दै, यस पटक सार्वजनिक बहसको केन्द्रीकृत स्वरूपका रूपमा बजेट निर्माण गर्ने प्रक्रिया थालनी गरिएको बताए । सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग बहस, छलफल गर्ने र सुझावलाई केन्द्रीकृत गरेर प्राथमिकताका आधारमा बजेट निर्माण गरिने उनको भनाइ थियो ।

विषयगत विज्ञले उठाएका सवाल महत्त्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेटको ढाँचा र समय तालिकामा परिमार्जन गर्ने प्रक्रियाअन्तर्गत नै छलफल आयोजना गरेको बताए ।

उनले भने, “सबैको विवेकलाई केन्द्रित गरेर मात्र हामी ठिक ठाउँमा पुग्न सक्छौँ । हामीले सबै क्षेत्रमा आमूल सुधारतर्फ सोच्नपर्छ ।यस पटक नीति तथा कार्यक्रम र बजेटमा राष्ट्रिय बहसको परिस्थिति सिर्जना गरेर सबैका सुझाव सङ्केन्द्रित गर्छौं । नीति तथा कार्यक्रम पहिला जनता, बुद्धिजीवी र जनप्रतिनिधिमा पठाइन्छ । त्यसलाई अन्तिम रूप दिएपछि मात्र सम्माननीय राष्ट्रपतिले संसद्मा पढ्नुहुन्छ ।”

देशमा आर्थिक सङ्कट र गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाउने कोसिस भइरहेको जटिल परिस्थितिमा सरकारको नेतृत्व लिएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सङ्कटको निकास गर्ने जिम्मेवारी आफूमा रहेको बताए । उनले भने, “म सङ्कटका बेला प्रधानमन्त्री भएँ । देशलाई सङ्कटबाट मुक्त गर्न मैले लगातार कोसिस गरिरहेको छु । तीन तहको सरकार नै प्रभावकारी बनाउने गरी छलफल गरेका छौँ । प्रदेश र स्थानीय तहलाई बलियो नबनाईकन व्यवस्था बलियो बनाउन सकिँदैन । यसमा हामी गम्भीर छौँ । हामीले फड्को हान्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्