राष्ट्रिय सभाका निर्वाचित उन्नाइस सदस्यको शपथ आज



राष्ट्रिय सभा

काठमाडौँ । राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले सोमबार शपथग्रहण गर्दै छन् । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका लागि २०७४ फागुनमा निर्वाचित एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिएको हो।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नवनिर्वाचित सदस्यको शपथग्रहण नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान साढे ११ बजे हुने जानकारी गराए । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा निर्वाचित सदस्यले राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल आइतबार मध्यराति सकिने भएकाले उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउने भएका छन् ।

सङ्घीय संसद् सचिवालयका अनुसार निर्वाचित सदस्यमध्ये एक जनाले मातृभाषामा शपथग्रहण गर्ने भएका छन् । सुदूरपश्चिमबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रेनु चन्दले मातृभाषामा शपथ लिने छन् । उनी नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित हुन् ।

गत माघ ११ गते सम्पन्न निर्वाचनले राष्ट्रिय सभाका १९ सदस्य निर्वाचित गरेको थियो । रिक्त रहेको एक जना सदस्य राष्ट्रपतिबाट मनोनित हुने छन् । शपथग्रहण गरेका सदस्य सोमबार नै राष्ट्रिय सभाको बैठकमा सहभागी हुने छन् । राष्ट्रिय सभाको सोमबारको बैठक अपराह्न १ बजेर १७ मिनेटमा बस्ने तय गरिएको छ ।

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा सत्तारूढ नेकपा ९माओवादी केन्द्र० ठुलो दल बनेको छ । राष्ट्रिय सभामा सो दलको प्रतिनिधित्व गर्ने सदस्यको सङ्ख्या १७ पुगेको छ । प्रतिनिधि सभामा भने माओवादी केन्द्र तेस्रो ठुलो दल हो ।

राष्ट्रिय सभामा नेपाली काँग्रेस दोस्रो ठुलो दल बनेको छ । सो दलको सदस्य सङ्ख्या १६ छ । यसअघि ठुलो दल रहेको नेकपा (एमाले) तेस्रो हैसियतमा पुगेको छ । प्रतिनिधि सभामा नेपाली काँग्रेस ठुलो र नेकपा ९एमाले० दोस्रो ठुलो दल हो ।

प्रतिनिधि सभामा राष्ट्रिय दलको हैसियत नपाएको नेकपा (एकीकृत समाजवादी) भने राष्ट्रिय सभाको चौथो ठुलो दल हो । सो दलको सदस्य सङ्ख्या आठ छ । राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको उपस्थिति छैन ।

राष्ट्रिय सभाका अध्यक्ष पदको निर्वाचन आगामी फागुन २९ गते गर्ने गरी सम्भावित कार्यसूची तय गरिएको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आइतबार नै सकिएको हो ।

राष्ट्रिय सभाको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकले माघ र फागुन महिनाका लागि तयार गरेको सम्भावित कार्यसूचीबमोजिम अध्यक्षको निर्वाचन यही फागुन २९ गते गर्ने तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्