रियल संघर्ष गर्दै क्वाटरफाइनलमा



काठमाडौँ । जर्मन क्लब आरबी लाइप्जिगविरुद्ध संघर्षपूर्ण बराबरी खेल्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रियल समग्रमा २-१ को जित निकाल्न सफल रह्यो ।

पहिलो लेगमा १-० को जित दर्ता गरेको बुधबार राती घरेलु मैदानमा १-१ को बराबरी खेल्दै अन्तिम आठमा स्थान पक्का गर्यो । पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा दोस्रो हाफमा भिनीसियस जुनियरको आकर्षक गोलमा रियल अघि बढ्यो । उनले जुड बेलिंघमको पासमा गोल गरेका थिए ।

अग्रता लिएको ३ मिनेटमै लाइप्जिग खेलमा फर्कियो । कप्तान विलि ओर्बनले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । इन्जुरी समयमा लाइप्जिगले खेललाई अतिरिक्त समयमा पुर्याउने अवसर गुमायो । ड्यानी ओल्मोको हेडर क्रसबारमा लागेर फर्कंदा रियल भाग्यमानी सावित भएको थियो ।

रियलसँगै म्यानचेस्टर सिटीले पनि क्वाटरफाइनलमा स्थान बनाइसकेको छ । बायर्न म्युनिख र पिएसजीले मंगलबार नै अन्तिम आठमा स्थान पक्का गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्