रास्वपाले मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने,  दायाँ बायाँ गर्नेलाई पार्टीबाट निष्कासन गर्ने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरूलाई सघाउन विज्ञ समूह बनाउने भएको छ ।  सो समूहमा सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरूलाई राख्ने रास्वपाले निर्णय गरेको हो ।

पार्टी र मन्त्रीहरूबिच समन्वय गर्ने उद्देश्यले गठन गरिएको समन्वय समितिको आइतबार बिहान बसेको बैठकले मन्त्रीहरूको काम प्रभावकारी बनाउन विज्ञ समूह बनाउने निर्णय गरेको रास्वपा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

सरकारमा रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसै गरी डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

मन्त्रीहरू र पार्टीबिच समन्वय गर्न डा। स्वणिर्म वाग्लेको नेतृत्वमा महामन्त्री ढकाल र शिशिर खनाल रहेको समन्वय समिति गठन गरिएको छ । समितिको सचिवको जिम्मेवारी शिशिर खनाललाई दिइएको छ । यो समितिको बैठक प्रत्येक आइतबार बस्ने गर्दछ । आज बसेको दोस्रो बैठकले सरुवा, बढुवा वा नियुक्तिमा अनियमितता गर्नेहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्