दीपक मनाङेले भन्छन् फुटबल खेलेर बसिरहेको थिएँ, राजनीति गर्छु 



काठमाडौँ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीपक मनाङेले आफूले अब वास्तविक राजनीति गर्ने बताएका छन् । सोमबार पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले एक वर्षसम्म आफू आराम गरेर बसेको र अबको चार वर्ष राजनीति गर्ने बताएका हुन् ।

उनले भने, ‘एक वर्षसम्म म यसो फुटबल सुटबल खेलेर हिँडिरहेको थिएँ, रेस्टजस्तो । हिजो चाहिँ मलाई के जोश आयो भने यो ४ वर्ष मैले पनि राजनीति गर्नुपर्छ ।’

केन्द्रमा जे समस्या आएर गठबन्धन फेरिए पनि त्यसको असर प्रदेशमा पर्न नहुने उनको भनाइ रहेको छ । आफू अहिले सरकारमा नजाँदा गण्डकी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना रहेको भन्दै चुनावमा जाँदा खर्च धेरै हुने भन्दै उनले भने,  ‘मध्यावधिमा म जानै दिन्न, गएछ भने पनि मैले लड्दिन ।’

भौतिक पूर्वाधार मन्त्रालय नै किन रोजेको भन्ने पत्रकारको प्रश्नमा उनले सरकारको ७० प्रतिशत भन्दा बढी बजेट यसमै रहेको र भ्रष्टाचार पनि धेरै हुने भएकाले नियन्त्रण गर्न गएको जवाफ दिए ।

प्रतिक्रिया दिनुहोस्