यस वर्षको एसईई परीक्षा सुरु



काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । आज पहिलो दिन परीक्षार्थीहरूले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ ।

एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ ।

विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । त्यस्ता परीक्षार्थीहरूले मौका परीक्षा भने दिन पाउने छन् । परीक्षा २७ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्