नेपालले टी-२० आईमा पहिलो पटक साउदी अरेबियासँग खेल्दै



काठमाडौँ । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दै छ । खेल मध्यहान्न ११ : ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा सुरुहुनेछ ।

नेपाल समूह ए बाट ३ खेलमा ६ अङ्कका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । त्यसैले आजको खेल नेपाललाई प्रतिष्ठाका लागि मात्रै हुनेछ । साउदी अरेबिया ३ खेलमा २ मा हार र एकमा जितसहित २ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपाललाई हराउन सके ४ अङ्कका साथ सेमिफाइनल खेल्ने साउदीको बलियो सम्भावना छ ।

आजको खेलमा बेन्चमा भएका अनिलकुमार शाह र प्रतिश जि।सीले मौका पाउन सक्छन् । नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । साउदीले हङकङविरुद्ध २०२ रन बनाउँदै ५५ रनको जित हात पारेको थियो । मलेसियासँग १२ रन र कतारसँग १५ रनले हारेको थियो ।

साउदीका कप्तान हिशाम शेख, ओपनर अब्दुल वाहिद र स्पिनर जैन उल अबिदीन प्रमुख हतियार हुन् । मनान अली साउदीका क्लिन हिटर हुन् । नेपालले टी-२० आईमा साउदी अरेबियासँग पहिलो पटक खेल्दै छ । नेपालले सेमिफाइनलमा यूएईसँग खेल्ने सम्भावना छ । समूह बी मा ओमान ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ । कुवेत ३ खेलमध्ये २ मा जित र एउटामा हारसहित ४ अङ्कका साथ दोस्रो स्थानमा छ । यूएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अङ्कका साथ तेस्रो स्थानमा छ ।

बहराइन ३ खेल र कम्बोडिया २ खेलमा अंक विहीन हुँदै पुछारमा छन् । आज ओमानले कुवेत र यूएईले कम्बोडियासँग खेल्दै छन् । ओमान र यूएई दुवै सहज रूपमा विजयी हुने सम्भावना छ । त्यसैले नेपाल र यूएई सेमिफाइनलमा भिड्ने समीकरण देखिन्छ ।

नेपाल समूह ए मा ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ । कतार ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अङ्कका साथ दोस्रो स्थानमा छ । साउदी ३ खेलमा १ मा जित र २ मा हारसहित २ अङ्कका साथ तेस्रो स्थानमा छ । मलेसिया र हङकङ पनि समान ३ खेलमा १ मा जित र २ मा हारसहित चौथो र पुछारमा छन् ।

आज मलेसिया र हङकङबीच खेल हुँदैछ । ४ अङ्कका साथ सेमिफाइनल खेल्न दुवै टोलीले फराकिलो जित हात पार्नुपर्छ । सेमिफाइनल शुक्रबार, तेस्रो स्थानको लागि शनिवार र फाइनल आइतबार हुनेछ । प्रतियोगिता विजेताले टी-२० एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोली एसीसी इमर्जिङ टिम्स एसिया कप पनि खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्