आर्सनल शीर्षस्थानमा



काठमाडौँ । घरेलु टोली वल्भ्समाथि २–० को सहज जित हात पार्दै लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । आर्सनलले एक खेल कम खेलेको म्यानचेस्टर सिटी र लिभरपुललाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।वल्भरह्याम्टनमा शनिबार राति भएको खेलमा आर्सनललाई जिताउन लियान्द्रो ट्रोससार्ड र मार्टिन ओडेगार्डले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको समयमा लियान्द्रो ट्रोससार्डले गोल गर्दै आर्सनललाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले गाब्रिएल जेससको पासलाई सदुपयोग गरे ।

आर्सनलको दोस्रो गोल पनि खेलको अन्तिम समयमा नै रह्यो । इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनलाई सहज जित दिलाए ।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको आर्सनलको ३३ खेलबाट ७४ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको ७३ तथा लिभरपुलको ७१ अंक छ । पराजित वल्भ्स ४३ अंक जोडेर ११औं स्थानमा छ । प्रिमियर लिगकै अर्को खेलमा ब्रेन्टफर्डले लुटनलाई ५–१ ले पराजित गरको छ । यस्तै बर्नलेले सेफिल्ड युनाइटेडलाई ४–१ ले पराजित गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्