वाम एकताको प्रक्रिया अगाडि बढ्छ : प्रधानमन्त्री प्रचण्ड



प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम दलहरूबिच सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।

सोमवार बिहान ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले चुनौतीहरू भए पनि जोखिम मोलेर वाम दलहरूबिच सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनु आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘जोखिमहरू छन्। जहिले पनि रहन्छन्। तर, जोखिमकै बिचबाट परिणाम दिने कुरा मुख्य हो। हामीले सहकार्यको प्रक्रिया अगाडि बढाएका छौँ। जोखिमकै बिचबाट यसलाई अगाडि बढाउनुपर्छ।’

प्रधानमन्त्री प्रचण्डले कम्युनिस्टहरूलाई एकताबद्ध गर्नु नै देशको, गणतन्त्रको, राजनीतिक सङ्घर्षको निम्ति आवश्यकता रहेको मनन गरेर ०७४ सालमा वाम एकता गरेको स्मरण गरे । उनले भने, ‘०७४ अघिल्लो एकता बचाउन सकिएन, तर एकटकको प्रयोग असफल भयो भन्दैमा हामी त्यसबाट पछाडि हट्नु हुँदैन। समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्छ। स्वाधीनताका निम्ति, वामपन्थी सहकार्यका निम्ति, आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ।’

प्रतिक्रिया दिनुहोस्