कतारका राजा पहिलो पटक नेपाल आउँदै : राष्ट्रपतिले स्वागत गर्ने



काठमाडौँ । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी २ दिने भ्रमणका लागि आज नेपाल आउँदै छन् । पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउन लागेका कतारका अमिर आज साँझ साढे ४ देखि साँझ ५ बजेसम्मभित्र नेपाल आइपुग्ने तालिका रहेको छ ।। उनको आगमनको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

कतारी अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थल जानेछन् । उनको सवारीको दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन् ।

भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

उनी बुधवार स्वदेश फर्किनेछन् । बुधवार अमिर थानी फिर्ता हुने समयमा समेत यस्तै प्रकारको नोटाम जारी हुनेछ । राजकीय भ्रमणका सिलसिलामा अति विशिष्ट पाहुनाको सम्मान र सुरक्षाका विमानस्थल बन्द गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्