आज मातातीर्थ औँसी,आमाको मुख हेर्ने दिन



काठमाडौँ । जहाँ जहाँ नारीहरूको सम्मान हुन्छ, आमा, छोरी, दिदी बहिनी आदि महिलाका भगवान् स्वरूपहरूको सम्मान हुने ठाउँमा मात्र भगवानको वास हुन्छ । जसरी औँसीको दिनमा लाग्ने चर्को घाममा बिस्कुन सुकाएमा अन्नमा किरा नलाग्ने विश्वास छ , त्यसै गरी आजको औँसीमा आमाको स्मरण र आमाप्रति श्रद्धा व्यक्त गरेमा आमा र सन्तान बिचको सबन्धमा कुनै दरार न आउने विश्वास रहेको छ ।

माता तीर्थ औँसीलाई देवलोक, पितृ लोक र पृथ्वी लोक सबैतिर जोड्न सक्ने एउटा सेतुका रूपमा लिइन्छ । यस तिथिमा आफ्ना आमाहरूलाई सम्झना गर्न, भेट्न, स्नेह प्रकट गर्न अत्यन्त आवश्यक मानिन्छ । यदि आमाहरू यस लोकमा नभए दान पुण्य गर्न अत्यन्त आवश्यक मानिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । आजको दिनलाई मातृ औँसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन छोराछोरीहरूले श्रद्धा, भक्ति, सम्मान अनि आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई आमाबाट शुभ–आशीर्वाद ग्रहण गर्ने चलन छ ।

अर्थात् आमाहरू देवता हुन् । यस लोकमा भएका आमाहरू जीवित देवताहरू हुन्, लोक त्यागेका आमाहरू पनि अमर छन्, उहाँहरूको सम्झना र आराधना गरिन आजका दिनले पैरवी गर्दछ । शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । संसारको सबैभन्दा पवित्र नाता, आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन हो, ‘आमा’ ।

कसरी मनाइन्छ माता तीर्थ औँसी ?

आज बिहान सबेरै उठी स्नान गरेर आमालाई मिष्टान्न भोजन खुवाई, उपहार दिँदै आमाको मुख हेर्ने र आमाबाट आशीर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरू आमालाई उपहार लिएर भेट्न पुग्छन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरू मीठा परिकारहरूसहित आमा घर अर्थात् माइती पुग्छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने सञ्चारका साधनहरूमार्फत पनि सम्झने गर्छन् । मानिसहरूले सामाजिक सञ्जालको माध्यमबाट पनि आमाप्रतिका भावना अनि सम्झनाहरू व्यक्त गर्ने गर्दछन् । आज उपत्यकाका नेवा समुदायले भने भक्तपुरको हनुमान घाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्छन् ।

प्रतिक्रिया दिनुहोस्