हार्दिकको कप्तानीमा रहेको मुम्बई दुई खेल अगावै बाहिरियो



काठमाडौँ । अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको पाँच पटक च्याम्पियन बनेको मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दुई खेल अगावै उपाधि दौडबाट बाहिरिएको छ ।

बुधबार राति सनराइजर्स हैदराबादले लखनऊ सुपर जायन्ट्सलाई १० विकेटले हराएसँगै मुम्बई आधिकारिक रूपमा प्लेअफ दौडबाट बाहिरिने यस सिजनको पहिलो टोली बनेको छ ।

मुम्बई १२ खेलमा ४ मा जित र ७ मा हारसहित ८ अङ्कका साथ नवौँ स्थानमा छ । मुम्बईले अब शनिवार कोलकाता र अर्को शुक्रवार लखनऊसँग खेल्नेछ । दुवै खेलमा विजयी हुँदा मुम्बई १२ अङ्कमा पुग्न मात्रै सक्छ । कम्तीमा चार टोली १४ अङ्कभन्दा माथि हुने पक्का हुँदा मुम्बई बाहिरिएको हो ।

कोलकाता ११ खेलमा ८ मा जित र ३ मा हारसहित १६ अङ्कका साथ नेट रन रेटमा माथि रहँदै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ११ खेलमा ८ मा जित र ३ मा हारसहित १६ अङ्कका साथ दोस्रो स्थानमा छ । कोलकाता र राजस्थानको प्लेअफ सम्भावना औपचारिकता बाँकी छ ।

हैदराबाद १२ खेलमा ७ मा जित र ५ मा हारसहित १४ अङ्कका साथ तेस्रो स्थानमा छ । चेन्नई ११ खेलमा ६ मा जित र ५ मा हारसहित १२ अङ्कका साथ चौथो स्थानमा रहेको छ ।

समान १२ खेलमा दिल्ली १२ अङ्कका साथ पाँचौँ स्थानमा छ । लखनऊ पनि १२ खेलमा १२ अङ्कका साथ नै छैटौँ स्थानमा छ । दिल्ली र लखनऊ खेल्न बाँकी हुँदा एक टोली १४ अङ्कका पुग्ने पक्का भएको हो ।

मुम्बईले यस सिजनदेखि हार्दिकलाई कप्तानमा नियुक्त गरेको थियो । २०१३ देखि कप्तानी गर्दै पाँच ट्रफी मुम्बईलाई जिताउने रोहित शर्मालाई हटाउँदै हार्दिकलाई कप्तानी जिम्मेवारी दिएको थियो । हार्दिकले २०१५ देखि २०२१ सम्म मुम्बईबाट खेलेका थिए ।

त्यसपछि हार्दिकले २०२२ मा गुजरात टाइटन्सको कप्तानी गर्दै उपाधि जितेका थिए । २०२३ मा भने हार्दिकको कप्तानीमा गुजरात फाइनलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्