बुद्ध जयन्तीको शुभ अवसरमा भारतीय राजदूतावास र बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा विभिन्न कार्यक्रम सम्पन्न



 काठमाडौँ । बुद्ध जयन्तीको शुभ अवसरमा नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा मिति २०८१ जेठ ९ गते लुम्बिनीमा विभिन्न कार्यक्रमको गरी कार्यक्रमको आयोजना गरेको छ ।

सोही दिनको पूर्व मध्यान्हबाट लुम्बिनी बौद्ध विश्वविद्यालयमा “बुद्ध धर्म र वैश्विक शान्ति” विषयकमा आयोजित विचार गोष्ठीसँगै कार्यक्रमको सुरुवात गरिएको थियो। भारत र नेपालका विशिष्ट बौद्ध विद्वानहरूले उक्त गोष्ठीमा सहभागिता जनाई आधुनिक जगतमा भगवान् बुद्धका शिक्षाको सान्दर्भिकताका बारेमा आ–आफ्ना विचार, अन्तर्दृष्टि साझा गरेका थिए। उनीहरूले भारत र नेपालबिचको अद्वितीय र समृद्ध बौद्ध सम्बन्धबारे प्रकाश पारेका थिए ।

 प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए । लुम्बिनीमा बुद्ध जयन्ती मनाउने क्रममा यस विशेष कार्यक्रमको मुख्य आकर्षण लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित राजकुमार सिद्धार्थ प्रतिमा, पवित्र उद्यान नजिकै आयोजित चित्रकला प्रदर्शनी र सांस्कृतिक साँझ रहेको थियो।

‘भगवान् बुद्ध र वहाँका शिक्षाहरू’ सम्बन्धी चित्रकला प्रदर्शनीको उद्घाटन नेपालका  प्रधानमन्त्रीले गरेका थिए । जसमा काठमाडौँ र लुम्बिनीका विद्यालयका विद्यार्थीहरूले तयार पारेका उत्कृष्ट चित्रहरू राखिएका थिए। यी चित्रहरूमा भगवान् बुद्धको जीवन र शिक्षाका विभिन्न पक्षहरूलाई चित्रण गरिएको थियो।

वैशाख बुद्ध पूर्णिमाको पूर्व सन्ध्यामा आयोजित सांस्कृतिक साँझमा भारत र नेपालका साझा बौद्ध सम्पदा र परम्परा झल्काउने जीवन्त प्रस्तुतिहरू समावेश थिए। हिनयान र महायान परम्पराका परम्परागत जपको बौद्ध भिक्षुहरूले पाठ गरेसँगै कार्यक्रमको सुरुवात भएको थियो जसको आयोजना लुम्बिनी विकास कोषले गरेको थियो। भारतकी कविता द्विवेदी र वहाँको नृत्य टोलीद्वारा ‘श्वेत मुक्ति–द फेमिनिन ग्लोरी अफ निर्वाण’ शीर्षकमा नृत्य, प्रसिद्ध भारतीय गायिका डा। सुभद्रा देसाईद्वारा भजन र धम्म गीतहरूको मार्मिक प्रस्तुति र श्री सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रख्यात नेपाली साङ्गीतिक समूह ‘सुर सुधा’ द्वारा बौद्ध गीतहरूको भावपूर्ण साङ्गीतिक सङ्ग्रहको प्रस्तुति कार्यक्रममा प्रस्तुत गरिएको थियो।

आफ्नो स्वागत मन्तव्यमा राजदूत नवीन श्रीवास्तवले भारत र नेपालको साझा बौद्ध विरासत र सम्पदा एक कडीको रूपमा रहेको जसले दुवै देशका जनतालाई शताब्दीयौंदेखि जोडेको बताए । नेपालको लुम्बिनी र भारतको बोधगया, सारनाथ र कुशीनगर पवित्र भूमिहरू हुन् जहाँबाट भगवान् बुद्धको सर्वव्यापी शिक्षा विश्वका अन्य भागहरूमा फैलिएको थियो। राजदूतले भारत र नेपालका जनताको कल्याण हेतु वर्तमान समयमा यो साझा विरासतलाई सुदृढ गर्न भारतको प्रतिबद्धता निरन्तर रहिरहने कुरामा जोड दिए ।

नेपालका सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ुप्रचण्डु ले सुन्दर चित्रकला प्रदर्शनी र जीवन्त सांस्कृतिक कार्यक्रमका लागि भारतीय राजदूतावास र सबै कलाकारहरूको प्रशंसा गरे । सम्माननीय प्रधानमन्त्रीले भारत र नेपालको द्विपक्षीय सम्बन्धमा संस्कृतिले विशेष स्थान ओगटेको र यस्ता कार्यक्रमले हाम्रा दुई देशबिचको मित्रता र सद्भावको बन्धनलाई थप मजबुत बनाउने बताउनुभयो। उनले यस्ता कार्यक्रम गर्वको स्रोत मात्र नभई ज्ञानको खजाना रहेको बताए । उनले विभिन्न क्षेत्र बिचको सहकार्यले मजबुत बनाएको नेपाल र भारतबिच सदियौँ पुरानो, बहुआयमिक सम्बन्ध रहेको बताए ।

कार्यक्रममा नेपालका माननीय उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्री नारायणकाजी श्रेष्ठ, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री श्री जोख बहादुर महरा, कैयौँ वरिष्ठ प्रदेशीय नेताहरू लगायत लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा वरिष्ठ पदाधिकारीको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा भारत र नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरूका साथै सर्वसाधारणको पनि बाक्लो उपस्थिति रहेको थियो।

राजदूत श्रीवास्तवले सम्माननीय प्रधानमन्त्री ‘प्रचण्ड’ लाई भारतको सिक्किमको विस्तृत रूपले चित्रण गरिएको थाङ्का चित्र उपहार स्वरूप प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्