नारायणगढ-मुग्लिनमा ३ बस र एउटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २२ जना घाइते



चितवन । चितवनको नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नं.२९ मा चार वटा सवारी साधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २२ जना यात्रु घाइते भएका छन् ।

परिचय खुल्न बाँकी रहेका अन्दाजी १७ वर्षीय एक युवकको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।

काठमाडौँबाट प्युठान जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौँबाट बर्दिवासतर्फ जाँदै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस आइतबार राति साढे १२ बजेतिर एक ठाउँमा ठोक्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बस र ट्रक सुरुमा ठोक्किएपछि अन्य सवारी साधनहरू पनि त्यहीँ ठोक्किएका थिए ।

दुर्घटनाका घाइतेहरूको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटना स्थलबाट सबै सवारी साधनहरू हटाएर आज बिहान करिब ५ बजेदेखि सडक दुईतर्फी रूपमा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्