विश्वकप विजेताले ३२ करोड रुपैयाँ पाउने



काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले वेस्टइन्डिज र अमेरिकामा जारी आइसीसी मेन्स टि२० विश्वकपको पुरस्कार राशी सार्वजनिक गरेको छ । आइसीसीले यस पटक विश्वकप इतिहासकै सर्वाधिक पुरस्कार राशी घोषणा गर्ने क्रममा विजेतालाई २४ लाख ५० हजार अमेरिकी डलर अर्थात् झन्डै ३२ करोड ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । यससँगै उपविजेताले १६ करोड रुपैयाँ प्राप्त गर्नेछन् ।

सेमिफाइनलमा पराजित हुने टोलीले साढे ११ करोड रुपैयाँ प्राप्त गर्दा सुपर ८ मा प्रतिस्पर्धा गर्ने टोलीले पनि कम्तीमा ५ करोड रुपैयाँ पाउनेछन् ।

विश्वकपको समूह चरणमा तेस्रो हुने चार टोलीले ३ करोड ३० लाख रुपैयाँ पाउँदा हरेक समूहको पुछारका दुई टोलीले झन्डै ३ करोड रुपैयाँ प्राप्त गर्नेछन् । हरेक टोलीले विश्वकपमा खेल जित्दा ४० लाख रुपैयाँ अतिरिक्त पुरस्कार प्राप्त गर्नेछन् ।

नेपाल यस पटक विश्वकपको समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन् । नेपालले पहिलो खेल मङ्गलवार खेल्दै छ । खेल नेपाली समयअनुसार रातको ९:१५ बजे (स्थानीय समय बिहान १०:३० बजे) सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्