मैथिली फिल्म सेवकको मुख्य पात्रमा सञ्चारकर्मी घनश्याम 



जनकपुरधाम : नेपाल सरकारले हाल दिंदै आएको सामाजिक सुरक्षा भत्ता र विशेष क्षमता भएकाहरुको लागि उपलब्ध गराइएको विशेष सुविधा लगायतका विषयलाई केन्द्रबिन्दु बनाएर मैथिली फिल्म 'सेवक' को छायांकन हुँदै छ ।

 

समाजमा फिल्मको माध्यमबाट कलाकारहरुले सरकारले प्रदान गर्दै आएको सेवासुविधाबारे मिथिलाको सरल भाषाको प्रयोग गरी अभिनयद्वारा सन्देश दिने छन् । फिल्ममा मुख्य भूमिका सञ्चारकर्मी घनश्याम मिश्रलाई दिइएको छ ।

 

सञ्चारकर्मी मिश्र मिथिला क्षेत्रका प्रसिद्ध कलाकार भएर यसअघि पनि थुप्रै नेपाली र मैथिली फिल्ममा अभिनय गरिसकेका छन् । सेभ द चिल्ड्रेन जापान र नेपाल सरकारको संयुक्त प्रयासमा निर्माण हुन लागेको मैथिली फिल्म 'सेवक' को छायांकन महोत्तरीको दलित बस्तीमा भइरहेकाे छ ।

 

गणेश पाण्डेको निर्देशन र वरिष्ठ चलचित्रकर्मी रमेश रञ्जन झाको लेखनमा निर्माण भइरहेको मैथिली फिल्म सेवकमा मुख्य भूमिका निर्वाह गर्दै छन् सञ्चारकर्मी घनश्याम मिश्र ।

फिल्ममा सुनैनाको भूमिकामा मैथिली चर्चित कलाकार प्रियंका झा र चरित्र अभिनेताका रुपमा लेखक र वरिष्ठ चलचित्रकर्मी रमेश रञ्जन झा, मदन ठाकुर पनि फिल्ममा मुख्य भूमिकामा निर्वाह गर्दै छन् ।

 

फिल्ममा सेवकको आमाको रुपमा मिनापकि अनितारानी मण्डललाई देख्न सकिन्छ भन्ने सेवकको भाई र बुहारीको भूमिकामा चर्चित नृत्य निर्देशक धीरज ठाकुर र रीना रिमाल रहेका छन् ।

४० मिनेटको यो मैथिली फिल्म 'सेवक' मा एक दर्जन मैथिली क्षेत्रका चर्चित कलाकारहरु रहेको निर्देशक पाण्डेले बताए । फिल्मको छायांकन महोत्तरीका विभिन्न स्थानहरुमा भइरहेको छ ।

 

महोत्तरीको गौशाला, दलित बस्ती, बर्दिबास लगायतका स्थानहरुमा फिल्मको छायांकन हुँदै छ । फिल्म छायांकन समाप्त भएको एक महिनाभित्र तयारी अवस्थामा ल्याइने विश्वास निर्माणमा आवद्धहरुको छ ।

 

फिल्म तयार भइसकेपछि तराई मधेशका विभिन्न गाउँमा देखाइने सह-निर्देशक प्रकाश भट्टले बताए । फिल्म निर्माणमा सहायक भएर कार्य गर्दै आएका रामकुमार श्रेष्ठका अनुसार यो फिल्म हेरि सकेपछि सरकारले सामाजिक सुरक्षा भत्ता र अपांग, असहायको लागि के कस्तो व्यवस्थाहरु गरेको छ भन्नेबारे छरपस्ट हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्