सुदूरपश्चिमको उग्रतारा मन्दिरमा देहिजाँत मेला



डडेल्धुरा : सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा रहेको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा बिहीबार भव्य मेला लागेको छ । स्थानीय भाषामा ‘देहिजाँत’ को रुपमा चिनीने डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्दछ । 

 

खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार)को बिचभागमा रहेको उग्रतारा भगवती मन्दिरमा स्थानीयहरु रतेडी मेलामा आएर बिहान ‘देउरो’ ल्याएपछि दिउसेडी मेला सुरु हुने गर्दछ ।

 

देहिजाँतको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश सँगै कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आउने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए । 

 

डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने देहिजाँत मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुग्दछन् । 

 

‘धेरै श्रदालुभत्तजनहरु मेला भर्न भनि बुधबार राति नै डडेल्धुरा सदरमुकाम पुगिसेका छन्,’ उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष साँकीले भने, ‘बिहानबाटै विभिन्न जिल्लाका भक्तजनहरु आउने क्रममै छन् ।’ श्रदालुभक्तजनको डडेल्धुरा सदरमुकाममा घुइँचो लागेको देख्न सकिन्छ । 

 

किंम्बदन्तीअनुसार परापूर्वकालमा स्थानीय साँकी जातीका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको बताइन्छ । निस्कीएको उक्त रगतलाई आफूले खानाको रुपमा ल्याएको खिचडीले ‘टालेर’ रोकेपछि देवी उत्पन्न भई दर्शन दिएको र स्थापना गरिएको विश्वासमा त्यसबेला देखि कार्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेलालाग्ने परम्परा रहि आएको हो । 

 

देहिजाँतको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्यहरु हेर्न सकिने, ईष्टमित्र, साथी संगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय खाना माँडा देहिजाँतमा प्रशस्त खान पाइन्छ ।

 

पछिल्लो समय स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रर्वद्धनका लागि पनि मेला प्रसिद्ध छ । वर्षमा एक पटक भव्य रुपमा लाग्ने मेलामा उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ती हुने, मनोकामना पूरा हुने जनविश्वास रही आएको छ । 

 

प्रतिक्रिया दिनुहोस्