सामाजिक मन्त्रालयमा शिक्षकको जुलुस 



कैलाली : हालसम्म शिक्षकहरुका संस्था र सरकार बिच भएका सबै सहमती र सम्झौताहरु कार्यान्योयन गर्न माग राख्दै सुदूर पश्चिम प्रदेशको सामाजिक मन्त्रालयमा शिक्षकहरुले धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ कैलालीले जुलुस तथा धर्ना कार्यक्रम सहित सुदूर पश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना दिएको हो । 

 

स्थानीय तहलाई शिक्षासम्बन्धी ऐन आफूखुशी बनाउन रोक लगाउनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामूहिक पदोन्नतिको व्यवस्था गरिनुपर्ने लगयातका माग महासंघले राखेको छ ।

 

शिक्षकहरुको सेवा सुविधाको लागि राष्ट्रिय मापदण्ड निर्माण गर्नुपर्ने भन्दै शुक्रबार शिक्षकहरुले मन्त्रालय घेराउ गरी सामाजिक मन्त्री कृष्णराज सुवेदी लाई ज्ञापन पत्र समेत बुझाएका छन् । मन्त्री सुवेदीलाई मागपत्र बुझाउदै नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष इन्द्रराज भट्टराईले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।

 

नेपाल शिक्षक महासंघको आफ्ना २६ बुदे माग तत्काल पुरा गर्नुपर्ने माग गर्दै सरकारले उक्त माग पुरा नगरे कडा आन्दोलनमा प्रस्तुत हुने समेत उपाध्यक्ष भट्टराईले चेतावनी दिए । नेपाल शिक्षक महासंघ सुदूरपश्चिम प्रदेशले शुक्रबार सामाजिक विकास मन्त्रालय परिसरमा गरेको विरोध सभामा मन्त्री सुवेदीले आन्दोलनमा आफ्नो पनि सर्मथन रहेको समेत बताएका छन् । 

 

विरोध सभामा सहभागी शिक्षकलाई मन्त्री सुवेदीले माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिदै आन्दोलनमा ऐक्यबद्धता समेत जनाएका हुन् । प्रदेशको शिक्षा हेर्ने जिम्मेवारी समेत उनकै मन्त्रालयको हो ।

प्रतिक्रिया दिनुहोस्