निर्मलाका बुवालाई मानसिक समस्या



महेन्द्रनगर : कञ्चनपुरमा छोरीको बलात्कारपछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै धर्नामा बसिरहेका निर्मला पन्तका बुवा यज्ञराज पन्तको शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।

 

बलात्कार पछि हत्या गरिएकी छोरीका लागि  न्याय माग्दै झण्डै दुई हप्तादेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडी धर्नामा बसेका यज्ञराज पन्तमा मानसिक समस्या देखिएको भन्दै चिकित्सकले उपचारका लागि अन्यत्र लैजान परिवारलाई सुझाव समेत दिएका छन् । 

केही दिन यता यज्ञराजमा एक्कासी रुने, हाँस्ने, वर्वराउने, गाली गर्ने, सडकमा डुल्ने, ढुङ्गामुढा गर्ने समस्या देखिएको उपचारमा संलग्न महाकाली अञ्चल अस्पतालका डाक्टर शुदिप खरेलले जानकारी दिए । महाकाली अञ्चल अस्पतालमा मानसिक रोग सम्बन्धीका चिकित्सक उपलब्ध नभएकाले आफूले यज्ञराजलाई उपचारका लागि अन्य ठाउँमा लैजान सुझाव दिएको समेत बताएका छन् । 

यसैबिच, चिकित्सकको सल्लाह पछि यज्ञराजलाई उपचारका लागि बाहिर लैजाने तयारी भइरहेको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकर विष्टले जानकारी दिए । निमित्त प्रमुख जिल्ला अधिकारी विष्टले पन्तका परिवारले आपसी सर–सल्लाह गरेपछि उनलाई उपचारका लागि लैजाने बताएका छन् । भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिया किशोरी निर्मला पन्तको गत साउन ११ गते बलात्कार पछि हत्या गरेको अवस्थामा उखुबारीमा शव भेटिएको थियो । घटनामा संलग्न व्यक्तिको अझै पनि पहिचान हुन सकेको छैन् ।

 

प्रतिक्रिया दिनुहोस्