पूर्वराष्ट्रपति डा.यादवको चिन्ता : देश बुझ्ने नेता भएनन् 



काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालमा देश बुझ्ने नेताको खाँचो रहेको बताएका छन् ।  पत्रकार जगत नेपालद्वारा लिखित बाह्रखरी बुक्सको पहिलो पुस्तक ‘बिपीको विद्रोह’को शुक्रबार लोकार्पण गर्दै उनले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसके पनि अझै देश बनाउने नेताको खाँचो रहेको आवश्यकता औँल्याएका हुन् । 

 

पूर्वराष्ट्रपति डा.यादवले हिमाल, पहाड र तराईलाई जोड्ने कुनै पार्र्टीमा नेता नदेखिएकाले यसतर्फ गम्भीर बन्न राजनीतिक नेतृत्वलाई आग्रह गर्दै विभेदको राजनीति अन्त्य गर्नसमेत राजनीतिक नेतृत्वलाई सुझाव दिएका छन् । गुट उपगुटको राजनीतिमा नेता डुबेको छ, उनले भने, “लोकतान्त्रिक गणतन्त्रको विकासका लागि नेतृत्व सकारात्मक हुनुपर्छ, आफ्नो छवि सुधार्न तथा हिमाल, पहाड र तराईलाई जोडेर समुन्नत नेपाल बनाउनमा सबै राजनीतिक दल लाग्नुपर्छ ।” 

 

पूर्वराष्ट्रपति डा.यादवले बिपीको विद्रोह पुस्तकले विसं २००७ देखि २०३७ सम्मको विवरण प्रस्तुत गरेको उल्लेख गर्दै बिपीलाई प्रजातान्त्रिक योद्धा र बहुआयामिक व्यक्तित्वको संज्ञा दिए । एक प्रसङ्ग कोट्याउँदै उनले सेना जनताका प्रतिनिधिको मातहतमा रहनुपर्ने कुरा तथ्यपरक रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्