‘भारत–नेपाल साहित्य संगम–२०१८’ सिक्किममा



काठमाडौं : भारतको सिक्किममा नेपाल र भारतका साहित्यकारहरूको तीन दिवसीय सम्मेलन हुने भएको छ । सम्मेलन नोभेम्बर २५, २६ र २७ (मंसिर ९, १०, ११)मा सिक्किमका भिन्नभिन्न ठाउँमा सम्पन्न हुने आयोजकले जनाएको छ । सम्मेलन २५ नोभेम्बरमा पश्चिम सिक्किमको गेजिङ, २६ मा नाम्ची र २७ मा विश्वप्रसिद्ध झिल छाङ्गुमा गरिन लागेको हो । 

 

कार्यक्रममा नेपाल र सिक्किमका तीन दर्जन लेखक, कवि, पत्रकार र समालोचकहरू सहभागी हुने बताइएको छ । प्रेस क्लब अफ सिक्किम र देवकोटा–लु सुन प्रज्ञा प्रतिष्ठान, नेपालको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । सम्मेलनमा यसपटक नेपालबाट १० जना कवि, लेखक तथा संगीतकर्मी सहभागी हुन लागेका छन् । 

 

चार वर्ष अघिदेखि यी दुई संस्थाले संयुक्त रुपमा साहित्यकारहरुको सम्मेलन तथा साँस्कृतिक आदानप्रदानसहितका कार्यक्रमहरु गर्दै आएको छन् । यस्ता कार्यक्रमहरु एक वर्ष नेपाल तथा अर्को वर्ष भारतको सिक्किममा आयोजना गर्ने गरेर यी दुई संस्थाहरुले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । समझदारीपछिको यो सम्मेलन तेस्रो सम्मेलन हो । 

प्रतिक्रिया दिनुहोस्