शम्भुजित स्वर्णिम सांगीतिक यात्रा असोज १३ र १४ गते आयोजना हुने



काठमाडौं : राजधानीमा असोज १३ र १४ गते ‘शम्भुजित स्वर्णिम सांगीतिक यात्रा–२०१८’ आयोजना हुने भएको छ । साधना कला केन्द्रको आयोजनामा हुने स्वर्णिम सांगीतिक साँझमा गोल्डन टच संगीतकार शम्भुजित बास्कोटा’द्वारा संगीतबद्ध चर्चित गीतमा ३० जना गायकगायिकाले स्वर दिनेछन् ।

 

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै संगीतकार बास्कोटाले आफ्नो स्वर्णिम साँझ र यसमा सहभागी हुने गायकगायिकाबारे जानकारी दिए । पहिलो दिन असोज १३ गते काठमाडौंको टुँडिखेलमा सांगीतिक कार्यक्रम हुनेछ । दिउँसोबाट सुरु हुने यो निःशुल्क कार्यक्रममा बास्कोटासहित प्रेमध्वज प्रधान, योगेश वैद्य, दीपक खरेल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अनन्द कार्कीजस्ता अघिल्ला पुस्ताका कलाकारले एकदेखि तीनवटासम्म बाँस्कोटाको संगीतमा रेकर्ड भएका आफ्ना गीत गाउनेछन् ।

 

यस्तै यम बराल, राजेशपायल राई, अमर तण्डुकार, देविका वन्दना, कर्णदास, मनोज राज, प्रमोद खरेल, निशा देशार, टीका प्रसाईं, विश्व नेपाली, सञ्जय तुम्रुक, बानिका प्रधान, मीना निरौला, सुरेश लामा, सुरजकुमार थापा, स्मिता दाहाल, युवराज चौलागार्इं, केन्जल मेहरले चर्चित गीत प्रस्तुत गर्नेछन् । २२ जना प्रत्यक्ष वाद्यवादकले प्रत्यक्ष वाद्यवादनमा साथ दिनेछन् । कार्यक्रम करिब चार घण्टा चल्नेछ ।

 

स्वर्णिम साँझको दोस्रो दिन असोज १४ गते साँझ साढे ५ बजे सोल्टी होटलमा कार्यक्रम हुनेछ । रात्रिभोजसहित आयोजना हुने यो कार्यक्रममा भारतीय गायिका अनुराधा पौडवाल, सञ्जीवनीसहित नेपाली गायिका दीपानारायण झाले पनि शम्भुजित बास्कोटाद्वारा संगीतबद्ध आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछन् ।

 

कार्यक्रम आयोजक एवं साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले नेपाली संगीतमा बास्कोटाको चार दशक पूरा भएको अवसरमा शम्भुजित स्वर्णिम सांगीतिक यात्रा आयोजना गर्न लागिएको बताए । यो यात्रा काठमाडौंबाट सुरु भएर दुई वर्षभित्र विश्वका दुई दर्जनभन्दा बढी देशमा आयोजना गरिने पनि मोक्तानले बताए । कार्यक्रममा बास्कोटाको साँगीतिक यात्रामा सहयोग पुर्‍याउने गायक, गायिका, गीतकार, संगीतकार, संगीत सम्योजक, ध्वनी नियन्त्रकलगायत १५ जनालाई स्वर्ण पदकबाट विभूषित गरिने छ ।

प्रतिक्रिया दिनुहोस्