‘ए’ डिभिजनमा आजदेखि चौथो चरण, आर्मी रोक्ने संकटाको दाउ



काठमाडौं  : पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणसम्म शतप्रतिशत नतिजा निकालेको संकटा क्लब लिगमा आफ्नो अपराजित यात्रालाई कायम राख्ने दाउमा छ । लिगमा प्रत्येक टोलीले तीनतीन खेल खेल्दा सबै खेलमा जित हात पार्नेमा मनाङ मस्र्याङ्दी र संकटा दुईवटा क्लब छन् । मनाङ र संकटाले समान नौ अंक बनाएका छन् । मनाङले तेस्रो चरणको अन्तिम खेलमा बलियो प्रतिद्वन्द्वी थ्रीस्टारलाई हराएर शीर्ष स्थान ओगटेको थियो ।

 

सोमबारदेखि सुरु हुने चौथो चरणको पहिलो खेलमा संकटाले तुलनात्मक रूपमा बलियो विभागीय टोली आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । अघिल्ला तीन खेलमा लगातार जित हात पारेको संकटा आर्मीसँग पनि स्पष्ट जित निकाल्ने अभियानमा छ । एन्फा कम्प्लेक्स मैदानमा हुने आर्मी र संकटाको खेलले तालिकाको समीकरणमा समेत ठूलो फेरबदल पार्नेछ । यसअघि संकटाले पहिलो खेलमा सरस्वती युथ क्लबलाई १–० गोलले हराएको थियो । संकटाले दोस्रो खेलमा जाउलाखेल र तेस्रो खेलमा मच्छिन्द्रलाई समान २–० गोलले पराजित गरेको थियो ।

 

यसैगरी राष्ट्रिय टोलीका आशलाख्दा खेलाडी भरत खवास, नवयुग श्रेष्ठलगायत खेलाडीको साथ पाएको आर्मी प्राविधिक र फिजिकल रूपमा निकै बलियो देखिन्छ । आर्मीले पनि लिगमा अपराजित यात्रा कायमै राखेको छ । आर्मीले एनआरटीसँगको पहिलो खेल मात्र २–२ गोलको बराबरीमा चित्त बुझाएको थियो । आर्मीले दोस्रो खेलमा च्यासललाई र तेस्रो खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई समान १–० गोलले हराएको थियो । तेस्रो चरणको खेलसम्म आर्मी सात अंकका साथ तालिकाको चौथो स्थानमा छ । समान सात अंक बनाएको हिमालयन शेर्पा क्लब गोल अन्तरका आधारमा एक स्थान माथि छ ।

 

यसैगरी एन्फा मैदानमै हुने अर्को खेलमा थ्रीस्टार र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगको उपाधि दाबेदार थ्रीस्टार एनआरटीको तुलनामा बलियो देखिएको छ । अघिल्ला दुई खेलमा जित हात पारेको थ्रीस्टारले मनाङसँग मात्र हार खेपेको थियो । थ्रीस्टारले पहिलो खेलमा ललितपुरकै अर्को टोली फ्रेन्ड्सलाई २–१ र ब्रिगेड ब्वाइजलाई ५–१ गोलले पराजित गरेको थियो । तीन खेलमा ६ अंक बनाएको थ्रीस्टार पाँचौं स्थानमा छ ।

 

टोलीका यू–१८ खेलाडीको वर्चस्व रहेको एनआरटीले भने आशलाग्दो खेल खेल्न सकिरहेको छैन । पहिलो खेलमा आर्मीसँग एक अंक खोसेको एनआरटीले पछिल्ला दुवै खेलमा हार खेप्यो । एनआरटीले दोस्रो खेलमा मनाङसँग २–० र तेस्रो खेलमा च्यासलसँग ५–१ को हार खेपेको थियो ।

 

लिगअन्तर्गत हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने अर्को खेलमा नेपाल पुलिस र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो चरणको खेलसँगै दुवै टोलीको प्रदर्शन औसत देखिएको अन्नपुर्णमा खवर छ । लिगमा दुवै टोलीले समान चार अंक बनाएका छन् । च्यासल र पुलिसले अघिल्ला तीन खेलमा समान एक जित, एक हार र एक बराबरीको नतिजा निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्