शैली थिएटरले हरेक वर्ष गर्दै अाएकाे राष्ट्रिय बाल नाटककलाई यस वर्ष पनि निरन्तरता दिने



काठमाडाैं : शैली थिएटरले स्थापनाको १० वर्ष पार गरको छ । हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय बाल नाटकलाई यस वर्ष पनि उसले निरन्तरता दिँदै छ । प्रथम पटक २०६६ सालमा ६ वटा नाटक गरेको शैलीले माघको दोस्रो सातादेखि गर्न लागेको बाल नाटक दसाैं हुनेछ । त्यसपछि शैलीले हरेक वर्ष लगातार बाल नाटक आयोजना गर्दै आएको छ ।

 

शैली थिएटरका संयोजक नारायण न्यौपाने (आर्यन) भन्छन्, ‘हाम्रो उद्देश्य नै बाल रंगमञ्चको परम्परा बसाल्नु हो ।’ भविष्यमा नेपाली रंगमञ्चलाई चाहिने युवा रंगकर्मी तथा निर्देशक तयार पार्ने लक्ष्यसहित अगाडि बढिएको पनि उनले बताए । उनले थपे, ‘यस प्रयासबाट विद्यार्थी, विद्यालय र अभिभावकमा नाटकप्रति आकर्षण जगाउन सकिनेमा म विश्वस्त छु ।’ बाल नाटकको यो अभियानले नाटकको क्षेत्र फराकिलो बनाई यस क्षेत्रलाई व्यावसायिक बनाउन सकिने उनी बताउँछन् ।

 

बालबालिकालाई रंगमञ्च, कला र साहित्यतर्फ प्रोत्साहन र अवसर दिने हेतुले नाटक आयोजना गर्न लागिएको हो । नाटक महोत्सवमा सहभागी हुन शैली थिएटरले सम्पूर्ण व्यक्ति, संस्था, स्कुल तथा नाटकसँग सम्बन्ध राख्ने जोसुकैलाई आह्वानसमेत गरको छ । विशुद्ध बालबालिकासँग जोडिएको विषयवस्तुमा आधारित नाटक मञ्चन गर्दै आएको शैलीले सहभागी कलाकारलाई प्रमाणपत्रका साथै विजेतालाई पुरस्कारको समेत व्यवस्था गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्