प्रदेश २ बाट थालियाे प्रहरी भर्ना प्रक्रिया, दरखास्त दिनेमा ५१ महिला



जनकपुरधाम : देश संघीयता गएपछि प्रदेशबाट पहिलो पटक प्रहरी भर्नासम्त्रन्धी प्रक्रिया सुरु भएको छ । नेपाल प्रहरीअन्तर्गत प्रहरी सहायक निरीक्षक पदमा रिक्त पदपूर्तिका लागि असोज १५ गते आह्वान विज्ञापन आह्वान गरिएको थियो । जस अवधिमा १ हजार ६ सय ६१ जनाले दरखास्त दिएका थिए ।

 

जसमा महिलाको संख्या ५९ मात्र छ । छनोटसम्बन्धी चरणबद्ध परीक्षा सोमबारदेखि प्रदेश २ संघीय प्रहरी इकाइ कार्यालय जनकपुरमा सुरुसमेत भइसकेको छ । प्रत्येक दिन २ सयका दरले मंसिर १९ गतेसम्म छनोट पक्रिया सञ्चालन गरिने जनकपुरका एसएसपी मुकुन्द आचार्यले जनाए ।

 

तीन चरणमा हुने छनोटमा प्रारम्भिक स्वास्थ्य परीक्षण, दोस्रो चरणमा शारीरिक तन्दुरुस्ती र तेस्रोमा विस्तृत स्वास्थ्य परीक्षण हुने बताइएको छ ।  

 

प्रहरी भर्ना तथा बढुवामा लोकसेवा आयोगको सिद्धान्त २०६९ को दफा १० बमोजिम २० वटा बुँदा मा रहेर परीक्षा लिइने छ ।  प्रदेशस्तरमा प्रदेशका प्रहरी प्रमुखको नेतृत्वमा पाँच सदस्यीय प्रदेश प्रहरी पदपूर्ति उपसमिति गठन गरिएको छ । 

 

सो उपसमितिमा डीआईजीसहित केन्द्रीय प्रहरी प्रधान कार्यालयका एक प्रतिनिधि, लोकसेवा आयोगका एक जना प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ । प्रदेश २ मा यस परीक्षालाई व्यवस्थित गर्न ८० जना प्रहरी कर्मचारी खटिएका छन् । 

प्रतिक्रिया दिनुहोस्