साइकलको गतिमा जनकपुर रेल



जनकपुरधाम: ‘हाइस्पिड’ रेल सञ्चालनमा जापान, चीन र फ्रान्सबीच तीव्र प्रतिस्पर्धा छ । जापानले हालसम्म सबैभन्दा तीव्र गतिमा गुड्ने रेल सञ्चालनमा ल्याएको छ । सो रेल प्रतिघन्टा ६०३ किलोमिटर गुड्छ । फ्रान्सले प्रतिघन्टा ५७४ किलोमिटर र चीनले ५०१ किलोमिटर गुड्ने रेल चलाइसकेका छन् । प्रतिघन्टा न्यूनतम २०० किलोमिटरको गतिमा गुड्ने रेललाई ‘हाइस्पिड रेल’को परिभाषाभित्र राखिएको छ । भारत पनि ‘हाइस्पिड रेल’ सञ्चालन गर्ने दौडमा छ । हाल दिल्लीदेखि झाँसीसम्म प्रतिघन्टा १६० किलोमिटर गुड्ने ‘गतिमान एक्सप्रेस’ भारतको सबैभन्दा तीव्र गतिको रेल हो ।

 

नेपालमा सन् २०१९ को सुरुबाट जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी भइरहेको छ । तर, यो रेलको गति निकै सुस्त हुनेछ । पुरानो न्यारोगेज (२.६ फिट ट्रयाक) रेलवे विस्थापित गरी झन्डै चार वर्षपछि सञ्चालनमा आउने लागेको ब्रोडगेज (५.६ फिट ट्रयाक) रेल्वेमा गुड्ने रेलको गति साइकलको भन्दा बढी हुँदैन । प्रतिघन्टा एक सय किलोमिटरको गतिले गुड्ने डिजाइन गरिए पनि सो रेलमार्गमा प्रतिघन्टा औसत ४५ किलोमिटर गतिमा रेल चलाउन सकिने नेपाल रेल्वे कम्पनीका निमित्त महाप्रबन्धक तुलबहादुर डाँगीले बताए ।

 

‘धनुषाको कुर्थादेखि जनकपुर हुँदै जयनगरसम्म ३५ किलोमिटर रेलमार्गमा ८ वटा स्टेसन छन् । औसत साढे ४ किलोमिटरमा एउटा स्टेसन पर्छ,’ उनले भने, ‘स्टेसनहरूमा रोक्न केही दूरीअघिबाटै गति कम गर्नुपर्ने हुँदा बढी गति लिनै पाउँदैन । त्यसैले, ३५ किलोमिटरको दूरी पार गर्न डेढ घन्टाभन्दा बढी समय लाग्ने देखिन्छ ।’

 

तराईको समथर पक्की सडकमा साइकल पनि प्रतिघन्टा २५ किलोमिटरसम्म कुदाउन सकिन्छ । कुर्थादेखि जयनगरसम्म पुग्न लाग्ने समयलाई आधार मान्दा ब्रोडगेज रेलले प्रतिघन्टा २३ किलोमिटर दूरी मात्रै पार गर्छ । जब कि न्यारोगेजमा रेल पनि प्रतिघन्टा २० किलोमिटरको गतिमा कुद्ने गथ्र्यो ।

 

हाल विश्वमा ४ फिट साढे ८ इन्च चौडाइका रेल्वे ट्र्याकमा चल्ने रेल प्रचलनमा छ । धेरै देशले यसैलाई स्ट्यान्डर्ड गेजको रूपमा अपनाउन थालेका छन् । स्वयं भारतले पनि स्ट्यान्डर्ड गेजमा रेलमार्ग निर्माण सुरु गरेको छ । नेपालमा पनि स्ट्यान्डर्ड गेजमा रेलको डिजाइन र निर्माण गरिएको भए ती देशमा उत्पादन भएका रेल, पार्टस् तथा प्रविधि जनकपुर–जयनगर रेलमार्गमा प्रयोग गर्न सकिन्थ्यो । तर, ब्रोडगेजमा डिजाइन गरिएका कारण रेल, पार्टस् तथा प्रविधिका लागि भारतको मात्रै भर पर्नुपर्ने हुन्छ ।

 

विश्वमै विस्थापनको क्रममा रहेको ब्रोडगेज, सिंगल ट्र्याक र डिजेल इन्जिनको रेल हामीले नेपालमा सञ्चालनमा ल्याउँदै छौँ । हाल डिजाइन गरिएको रेलमार्गमा ‘लोकल रेलसेवा’ सञ्चालन गर्ने तयारी गरिएको हो । तर, यही मार्गमा एक्सप्रेस रेल सञ्चालन गर्न पनि सकिने नेपाल रेल्वे कम्पनीका अधिकारी बताउँछन् । एक्सप्रेस रेल सञ्चालन गर्ने हो भने प्रतिघन्टा ५० किलोमिटरको गतिसम्ममा गुडाउन सकिन्छ ।

 

सिंगल ट्र्याकको रेल भारत आफैँले त्याग्दै गएको छ । तर, नेपालमा सिंगल ट्र्याककै बनाएको छ । सिंगल ट्र्याकमा एकै समयमा दुवैतर्फबाट निर्वाध रूपमा दोहोरो रेलसेवा सञ्चालन गर्न सकिँदैन । दुवै बिन्दुबाट एकैपटक रेल सुरु गरे पनि बीचको कुनै एक स्टेसनमा रोकेर ट्र्याक परिवर्तन गरी दुवैले दुवैलाई बाटो दिनुपर्ने हुन्छ । यसले समय र झन्झट बढाउनेछ । नयाँपत्रिकावाट

प्रतिक्रिया दिनुहोस्