सञ्चालनमा नआउँदै जनकपुरमा रेल दुर्घटना



जनकपुरधाम : भारतको जयनगरदेखि नेपालको जनकपुरधामसम्म सञ्चालनको तयारीमा रहेको रेल दुर्घटना भएको छ । परीक्षणमा रहेको रेल लिकमा ब्लाष्ट अर्थात् गिट्टी झारेर फर्कने क्रममा लखौरी भन्ने स्थान नजिकै दुर्घटना भएको स्थानीयले बताएका छन् ।

 

यो घटना आइतबारको हो । ५३ वटा बोगी भएको मालवाहक रेलको २ वटा बोगी लिकबाट तल झरेको थियो । लिक छोडेर बाहिर गएको दुई बोगीलाई पुनः लिकमा राखेर भारत तर्फ लगिएको छ ।

 

रेलको लिक पूर्ण रूपमा तयार भइसकेको र परीक्षणको कार्य अन्तिम चरणमा पुगेको बेला रेलको बोगी लिकबाट झरेपछि निर्धारित समयमै रेल सञ्चालनमा आउनेमा आशङ्का उत्पन्न भएको छ । 

विश्व तीव्र गतिको रेलको प्रतिस्पर्धामा रहेका बेला नेपालमा भने पुरानै प्रविधिको रेल भित्र्याइएको भनेर आलोचना भइरहँदा परीक्षणकै क्रममा रहेको रेल दुर्घटनामा परेपछि यसमा संलग्न प्राविधिकहरू तनावमा परेका छन् । अहिलेसम्म गरिएको दुई पटकको परीक्षण सफल भए पनि तेस्रो चरणको परीक्षण अगावै रेल दुर्घटना भएको हो ।

 

रेलको लिकमा ब्लाष्ट राख्ने काम अझै सकिएको छैन । सोही कारण ५३ वटा बोगी भएको मालवाहक रेलले ब्लाष्ट ओसार्ने काम गरिरहेको हो । यसका साथै अर्को एउटा इन्जिनबाट पनि लिकमा रेलको परीक्षण गरिँदै आएको छ । 

 

जनकपुर जयनगर रेल मङ्सिर महिनामै सञ्चालन गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्