नेताका नामका संस्थालाई लाखौं बजेट



विराटनगर : प्रदेश सरकारले नेता तथा राजनीतिकर्मीका नाममा खोलिएका प्रतिष्ठानका लागि ‘पुँजीगत अनुदान’ भन्दै ठूलो रकम दिएको छ । यस आर्थिक वर्षभित्र खर्च गर्ने गरी प्रदेश सरकारले ११ वटा प्रतिष्ठानलाई सात करोड १० लाख रुपैयाँ रकम विनियोजन गरेको छ । 

बजेट भाषणमै प्रतिष्ठानका लागि रकम विनियोजन गरिएको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम दिने तयारी गरेको छ । 

मोरङको उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानका लागि दुई करोड रुपैयाँ विनियोजन गरिएको छ । तत्कालीन एमाले नेता भण्डारीका नाममा उर्लाबारीमा उर्लाबारी प्राविधिक शिक्षालय समेत सञ्चालन गर्दै आएको छ । 

सुनसरीको तरहरास्थित सहिद आवासीय विद्यालयका लागि एक करोड ५० लाख रुपैयाँ दिइने भएको छ। यसमा सहिद परिवारका विद्यार्थी पढ्छन् । 

झापाको दमकस्थित पुष्प धीरेन्द्र स्मृति प्रतिष्ठानका लागि ४० लाख, झापाकै सहिद सुखानी स्मृति प्रतिष्ठानलाई ४० लाख, गौरीशंकर स्मृति प्रतिष्ठानका लागि ४० लाख विनियोजन गरिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्