सार्वजनिक धाराको पानी थाप्‍न पनि पैसा



वीरगन्ज : पर्साको ठोरी गाउँपालिका–४ का स्थानीय सार्वजनिक धाराको पानी थाप्नसमेत पैसा तिर्छन्। झण्डै तीन सय घरधुरी रहेको वडा नम्बर ४ मा मेलचोक र विशाल चोकमा गरी दुई वटा मात्र खानेपानीका सार्वजनिक धारा छन्। ती दुवैमा बिहान र साँझ गरी तीन/तीन घण्टा पानी आउँछ। दुवै धारा विद्युतीय मोटरबाट चलाउने गरिएको छ।

 

नियमित विद्युत् आपूर्ति नहुँदा मोटर चलाउन जेनेरेटर पनि राखिएको छ। गाउँपालिका प्रमुख पदमलाल श्रेष्ठकै घर भएको वडामा उक्त धारो छ। पैसा तिरेरै पानी थाप्नु पर्दा पनि डेढ–दुई घण्टा पालो कुर्नुपरेको स्थानीय बताउँछन्।

 

स्थानीय निर्मल युवा समाज क्लबले बिहान ४ देखि ७ र बेलुकी दुई समयमा मात्र जेनेरेटर चलाएर धाराबाट स्थानीयलाई सःशुल्क पानी वितरण गर्दै आएको छ।

 

ती धाराबाट पानी थापेबापत क्लबले प्रत्येक घरबाट महिनाको एक सय रुपैयाँ शुल्क लिने गरको क्लबका अध्यक्ष भीमसेन सुनारले जनाए। ‘वर्षभरिकै एकमुष्ट तिर्नेलाई वार्षिक एक हजार रुपैयाँ मात्र लिन्छौं,’ अध्यक्ष सुनारले भने।

 

खानेपानीको अन्य स्रोत नहुँदा वडा नम्बर ४ का स्थानीयले सात वर्षदेखि यसैगरी सार्वजनिक धाराको पानीका लागि पैसा तिर्दै आएका छन्। खबर अाजकाे अन्नपूर्ण पाेस्टमा छापिएकाे छ । 

प्रतिक्रिया दिनुहोस्