प्रयोग विहीन भयाे विद्युत प्राधिकरण जनकपुर शाखाको क्यु सिस्टम



जनकपुरधाम : विद्युत प्राधिकरण जनकपुर शाखाको क्यु म्यानेजमेण्ट सिस्टम प्रयोग विहीन भएको छ । जनकपुर वितरण केन्द्रमा विद्युत महशुल तिर्न आउने ग्राहकहरुलाई अनुशासित र मर्यादित बनाउन साथै भीडलाई नियन्त्रण बनाइएकाे सिस्टम प्रयाेग विहीन भएकाे हाे । 

 

विद्युत लाइन पनि छ, मेसिन पनि छ तर मुख्य स्लीप (टोकन) लिने काउण्टर नै बन्द भएकाले यो विधि प्रयोग गर्नबाट बञ्चित भएको विद्युत महशुल बुझाउन आएकी जनकपुर १६ की ५७ वर्षीया शुशीला साहले गुनासाे पाेखिन् ।

 

जनकपुर क्याम्पस चाेकमा अवस्थित वितरण केन्द्रमा अहिले महिला र अपांगको लागि छुट्टै विल बुझाउने काउण्टर भए पनि कार्यालय प्रमुखको लापरवाहीले अपांगहरुले प्रयोग गर्ने काउण्टरमा सपांगहरु प्रयोग गरेको दृश्य सहजै देख्न सकिन्छ ।

 

महिलाको काउन्टरमा पुरुष र पुरुषको काउण्टरमा महिला बिजुली बिल बुझाउने भएपछि क्यु सिस्टम नै भताभुंग भएको छ । यस विषयमा वितरण केन्द्र प्रमुख सूर्य नारायण मण्डल भने फरक प्रतिक्रिया छ ।  

 

मण्डल भन्छन्, 'क्यु म्यानेजमेण्ट सिस्टम ठीक छ, तर ग्राहकको संख्या हेरेर मात्र हामी सञ्चालन गर्छाैं, अहिले ग्राहकहरुको चाप धेरै कम भएकोले मेसिन नचलाएका हाैं ।' 

 

भीड बढेपछि क्यु सिस्टम सुचारु हुने मण्डलले जनाए । बिजुली महशुल बुझाउन अहिले जनकपुर वितरण केन्द्रमा जम्मा अाठ काउण्टर रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्