जमिनको अस्वाभाविक मूल्यवृद्धिले नयाँ उद्योग स्थापनामा कठिनाई : मुख्यमन्त्री



बुटवलः प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले जमिनको अस्वभाविक मूल्यबृद्धिले उद्योग स्थापनामा समस्या भएको बताएका छन । उनले जग्गालाई बैंककोे मुद्धती खातामा राखे जस्तै गरि होल्ड गर्ने परिपाटीले औद्योगिक वातावरण बनाउन समस्या भएको बताए । 

 

  रुपन्देही उद्योग संघले आफ्नो त्रिदिवशीय कार्यक्रम अन्तरगत ४१ औं स्थापना एंव औद्योगिक दिवशलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो कुरा बताएका हुन । 

 

उनले प्रदेश सरकारले औद्योगिक विकासका लागि औद्योगिक क्षेत्रको स्थापना र रहेका क्षेत्रहरुको संरक्षणको कसरी गर्न सकिन्छ भनेर गम्भिरता पूर्वक अध्ययन गरिरहेको बताए उद्योग स्थापनाका लागि भू–स्वामित्व तथा भूमिको वर्गिकरणका विषयमा रहेको अन्यौलता नहड्दासम्म समस्या यस्तै रहिरहने बताए । 

 

उनले सामुहिकताको भावनाको विकास गर्न आग्रह गरे । औद्योगिकरण र लगानीमैत्री वातावरण बनाउन जमिन व्यवस्थापन मुख्य चुनौती रहेको बताउदै नाकाबन्दीको समयदेखि रुपन्देही लगानीका हिसाबले सुरक्षित भएको सकारात्मक सन्देश गएको र यहां औद्योगिक क्षेत्र स्थापनाका लागि धेरैको चासो बढेपनि सामुहिक भावनाको कमीले समस्या बढेको विचार व्यक्त गरे । 

 

प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री लिला गिरिले उद्योगीहरुलाई करको दायरामा आएर सरकारलाई सहयोग गर्न आग्रह गर्र्दै उद्योगमैत्री नीति निर्माण भइरहेकाले छलफलमा आउन अनुरोध गरे ।

 

 उनले उद्योगीले संचालन गर्ने प्रदर्शनीमा विदेशी उत्पादनलाई निरुत्साहित गर्न आग्रह गर्दै त्यसप्रकारका उद्योगमा लगानी बढाउन उद्योगीहरुलाई आग्रह गरे । कार्यक्रममा कार्यक्रममा प्रदेश सांसद कृष्ण न्यौपाने, उद्योग संघ अध्यक्ष गणेश अधिकारी,  पूर्व अध्यक्षहरु महेन्द्रनारायण श्रेष्ठ, बोनिन पिया, दिनेशराज रेग्मी, उत्कृष्ठ उद्योगी भुपालकुमार श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष भेषराज विनाडी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, पुरस्कृत पत्रकार तेजेन्द्र केसी लगायत बोलेका थिए । 

 

सो अवसरमा यस क्षेत्रका सदस्य उद्योगहरु मध्येबाट विभिन्न प्रकृतिका १२ उद्योगहरुलाई सम्मान गर्नुकासाथै उत्कृष्ठ औद्योगिक पत्रकारिता पुरस्कार–२०७४ वितरण गरिएको थियो । यसैगरि सदस्य उद्योगहरुमा कार्यरत कर्मचारीका छोराछोरी २ जना र १४औं राष्ट्रिय औद्योगिकप्रदर्शनीको टिकटबाट शिक्षा क्षेत्रका लागि छुट्याईको रकम, नगरपालिका हरियाली कोषको रकम र मुटु अस्पताललाई छुट्याईएको रकम हस्तान्तरण पनि गरिएको थियो । 

 

संघले आफ्नो स्थापना दिवशका अवसरमा प्रत्येक बर्ष यस क्षेत्रका सदस्य उद्योगहरु मध्येबाट उत्कृष्ठ छनौट गरि सम्मान गर्ने गरेको परम्परालाई अगाडी बढाउदै यस बर्ष १२ वटा उद्योगहरुलाई सम्मान प्रदान गरेको थियो । यसैगरि सोही कार्यक्रममा यस क्षेत्रमा रहेर औद्योगिक विकासका लागि कलम चलाउने सञ्चारकर्मीहरुलाई पुरस्कृत गर्ने गरि २०५७ सालमा रुपन्देही उद्योग संघले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०७४ बाट दैनिक पत्रमा कार्यरत तेजेन्द्र केसीलाई नगद ३५ हजार ५ सय ५५ सहित प्रशंसापत्रबाट पुरस्कृत गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्