वनले स्वीकृति नदिएपछि सडकका लागि रातारात काटिए रुख



कैलाली : जिल्लाकाे मोहन्यालमा अज्ञात समूहले बाटोमा पर्ने रुख काटेको छ । वडा नम्बर ३ स्थित बौनिया फलेबिसौना सडक खण्डमा पर्ने सयभन्दा बढी रुख शनिबार राति काटिएका हुन् । रुख कसले काट्यो, खुल्न सकेको छैन । 

बर्दगोरियादेखि फलेबिसौना जोड्ने बाटो कालोपत्रेको काम अघि बढेको छ । उक्त बाटो कालो पत्रे गर्न रुख नकाटी नहुने अवस्था थियो । ‘जिल्ला वनलाई अनुरोध गर्दा काट्न स्वीकृति दिएन । त्यसैले रातारात काटिएको हुन सक्छ । सडकमा पर्ने सबै हरिया रुख काटिएको छ ।’

इलाका वन कार्यालय चिसापानीले भने रुख कटानीबारे जानकारी नभएको जनाएको छ । कार्यालय प्रमुख राजीव चौधरीले भने, ‘वडा नम्बर ३ को वन क्षेत्र हेर्ने जिम्मा डिभिजन कार्यालय पहलवानपुरअन्तर्गतको सबडिभिजन कार्यालयलाई दिइएको छ । सबडिभिजन कार्यालय फलेबिसौनामा नै राख्ने निर्णय भएको छ ।’ उनले रुख कटानीबारे डिभिजन कार्यालयलाई जानकारी गराउने बताए ।

 

डिभिजन वन कार्यालय पहलवानपुरले मोहन्याल वडा नम्बर ३ को वन हेर्ने जिम्मा आफ्नो भए पनि कर्मचारी अभावमा निर्णय कार्यान्वयन हुन नसकेको जनाएको छ । हाल उक्त क्षेत्र इलाका वन कार्यालय चिसापानीले नै हेर्ने गरेको डिभिजन कार्यालय पहलवानपुरका प्रमुख विकास पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्