मुलुककै मूल प्रवेशद्धार सेल्फी स्पटमा परिणत 



वीरगन्ज : आर्थिक राजधानीका रुपमा परिचित सहर हो वीरगन्ज । भारतबाट प्रवेश गर्नेबित्तिकै हामी शंकराचार्य मूल प्रवेशद्धार नै देख्छौं ।  धेरै वर्षदेखि कुरूप बनेको शंकराचार्य मूलद्धार अहिले चिटिक्क बनेको छ । 

 

शंकराचार्यद्धारको जीर्णोद्धार गर्दै वीरगन्ज महानगरपालिकाले यसलाई झकिझकाउ बनाएको हो । महानगरपालिकाको यस कार्यले वीरगन्ज रक्सौल सीमाक्षेत्रको शंकराचार्यद्धार अहिले सेल्फी खिच्ने स्थल बनेको छ । 

 

पहिले सरकारी उदासीनता र उपेक्षाका कारण प्रवेशद्धार डम्पिङ साइटका रूपमा परिणत भएको थियो । महानगरपालिकाले सौन्दर्यीकरण गर्दै मूल प्रवेशद्धार अगाडि राष्ट्रिय झन्डा फहराएको छ । 

 

 विदेशबाट आउने पाहुनालाई स्वागत गर्न शंकराचार्यद्धारमा अंग्रेजी भाषाको डिजिटल बत्तीसमेत लगाइएको छ । निर्माण गरिएको पानीको फोहरामा भगवान पशुपतिनाथको मूर्ति स्थापना गर्ने योजना रहेको महानगपालिकाले जनाएको छ ।

 

आर्थिक नगरीसमेत रहेको वीरगन्जलाई राष्ट्रिय गौरवका रूपमा चिनाउन महानगरपालिकाले द्धारको विकास गरेको हो । सौन्दर्यीकरणपछि मंगलबार शंकराचार्यद्धारको उद्घाटन नगरप्रमुख विजयकुमार सरावगीले गरे । कार्यक्रममा नगरप्रमुख सरावगीले यसक्षेत्रलाई गुरुयोजनाअन्तर्गत नै विकास गरिने बताए ।

 

संघीय सरकारको उदासीनताका कारण द्वारक्षेत्रको उचित विकास हुन नसकेको दाबी गर्दै उनले मितेरी पुलदेखि वीरगन्जको रजतजयन्ती चौकसम्मको क्षेत्रलाई गुरुयोजनाअन्तर्गत सौन्दर्यीकरण गरिने बताए ।

 

उनले संघीय सरकारको ढुलमुल नीतिका कारण वीरगन्जको मुख्य सडक बन्न नसकेकाले सडक विभाग र सम्बन्धित मन्त्रालयलाई सडक कति फराकिलो बनाउने भन्नेबार चाँडै निर्णय गर्न मागसमेत गरे ।

 

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुषालले आफू वीरगन्ज आएलगत्तै शंकराचार्यद्धारलाई राष्ट्रिय पहिचानका रूपमा सेल्फी स्पटमा परिणत गर्ने व्यक्त गरेको प्रतिबद्धता पूरा भएकोमा खुसी व्यक्त गरे । 

 

 कार्यक्रममा वीरगन्ज उद्योगवाणिज्य संघका अध्यक्ष एवम् प्रदेश सभासद् ओमप्रकाश शर्मा, वीरगन्ज भन्सार कार्यालयका प्रमुख श्यामप्रसाद भन्डारी, सीमाजागरण मञ्च भारत विहार प्रदेशका अध्यक्ष महेश अग्रवाललगायतका वक्ताले वीरगन्ज रक्सौल सीमाक्षेत्रमा देखा परेका समस्याबारे दुवै देशका सरकारको ध्यानाकर्षण गराउँदै भौतिक विकासका कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्