विमानस्थलका लागि रुख काट्ने/नकाट्ने विवाद भइरहँदा प्रदेश २ सरकारद्वारा वृक्षराेपण अभियान



जनकपुरधाम :  प्रदेश २ अहिले २ वटा कुराले समाचारको विषय बनेको छ । एक, निजगढ विमानस्थल र अर्को हरित प्रदेश कार्यक्रमअनतर्गत वृक्षरोपण । निजगढ विमानस्थल  निर्माणका लागि प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले रुख काटेर विमानस्थल निर्माण गर्न नहुने बताएका छन् ।

 

हरित प्रदेश अभियानअन्तर्गत शुक्रबार बिहान पर्साको पर्सागढी गाउँपालिकास्थित सबैया जंगलमा वृक्षरोपण सुभारम्भ गर्दै उनले विमानस्थलको डीपीआर नबनेसम्म रुख काट्न नमिल्ने बताएका थिए । उनले डीपीआर तयार नगरी रुख काट्न खोज्नेलाई माफियाको संज्ञा दिए ।

 

प्रदेश २ सरकारले हरित प्रदेश अभियानको घोषणा गरी ५० हजार बिरुवा रोप्ने तयारी गर्दा उल्टै विमानस्थलका नाममा वन संहार गर्न लागेकोप्रति मुख्यमन्त्री रुष्ट बनेका हुन् ।

 

प्रदेश सरकारका सबैमन्त्री भिन्न भिन्न स्थानमा हरित प्रदेशकाे अवधारणा बाेकी वृक्षराेपणमा जुटेका बेला मुख्यमन्त्रीले उक्त कुरा बताएका हुन् । त्यस्तै महोत्तरीको मटिहानी नगरपालिका ६ जलसागरपोखरीमा शुक्रबार उद्योग राज्यमन्त्री सुरेश मण्डलले पनि प्रदेश २ सरकारले आयोजना गरेको हरित प्रदेश अभियानको सुभारम्भ गरेका छन् ।  

 

जानकारी रहोस् । निजगढमा बन्ने भनिएको उक्त स्थानमा बन्ने विमानस्थलले ओगट्ने जग्गा (८०.४५ वर्ग किमि) मध्ये ७५.०५ किमी भाग जंगलमै पर्छ । जुन नेपालको कुल जंगलको ०.४५ प्रतिशत हुन आउँछ । त्यस्तै उक्त भ्रभाग प्रदेश २ को जंगल क्षेत्रको १७.७६ प्रतिशत हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्