आज मिस वर्ल्डको अन्तिम प्रतिस्पर्धा, शृङ्खलाको सम्भावना कति ?



काठमाडौं: मिस वर्ल्ड प्रतियोगिताको फाइनल आज हुँदैछ । चीनको सान्यामा आयोजना गरिएको मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आज हुन लागेको छ । एक महिनादेखि विभिन्न विधामा भैरहेको प्रतियोगितामा १ सय १८ मुलुकका सुन्दरीले सहभागीता जनाएका छन् ।

 

प्रतियोगितामा सहभागी हुन चीन पुगेकी मिस नेपाल २०१८ श्रृंखला खतिवडाले दुई वटा महत्वपूर्ण स्पर्धामा जित हासिल गर्दै अन्तिम ३० मा स्थान बनाएकी छिन् ।  खतिवडा मल्टिमिडिया अवार्डतर्फ उपाधि जित्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । श्रृंखलाले मिस वल्र्डको ब्यूटी विथ अफ पर्पस अवार्ड पनि जितेकी छिन् ।

 

अन्तिम प्रतिस्पर्धामा आज अन्तिम १५ पछि अन्तिम ५ को छनोट गरी उपाधि घोषणा गरिनेछ । मल्टिमिडिया विधामा विजेता बन्दै फाइनल पुगेकी शृङ्खलाले मिस वर्ल्डको उपाधि जितिन् भने उनी भारतपछि मिस वर्ल्ड बन्ने पहिलो दक्षिण एसियाली प्रतिस्पर्धी बन्नेछिन् ।

 

सन् २०१३ मा इशानी श्रेष्ठले जितेको ब्यूटी विथ अफ पर्पस अवार्ड नै अहिलेसम्म नेपालले मिस वर्ल्डमा हासिल गरेको एक मात्र टाईटल अवार्ड हो । एसियावाट भारत, चीन, इजरायल र फिलिपिन्सबाहेक अन्य देशबाट मिस वर्ल्ड बन्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्