अङ्ग्रेजी बोर्डिङ स्कुलमा संस्कृत पठनपाठन



धनगढी : ‘बोर्डिङ स्कुलहरुबीच अङ्ग्रेजी भाषामा पठनपाठन गराउने प्रतिस्पर्धा भइरहेको वेला यहाँको एक निजी ‘बोर्डिङ स्कुल‘ले प्राचीन भाषा संस्कृत विषयको पठनपाठन शुरु गरेको छ ।

धनगढीको क्यास्पियन एकेडेमीले कक्षा ५, ६ र ७ मा संस्कृत विषयको पठनपाठन शुरु गरेको हो । संस्कृत मानिसको नैतिकता, आचरण, भाषा संस्कृतिसँग जोडिएकाले यो विषयको पठनपाठन शुरु गरिएको विद्यालयका संस्थापक अध्यक्ष मोहनराज शर्माले बताए ।

विद्यालयको संस्कृत विषयका शिक्षक खगेन्द्र अवस्थीले संस्कृतलाई देव भाषाका रुपमा लिइने भएकोले यसको ज्ञान प्राप्तिबाट नै मानवको व्यवहार, रस र ज्ञान प्राप्ति हुने बताए ।

संस्कृतको महत्व दर्शाउँदै उनले भने —
‘‘भाषायां जननी यस्स,संस्कृतम् नाम केवलम् ।
जन्म मृत्यु यथाकर्म,पवित्रम् सर्वसाधनम् ।।‘‘

अर्थात् संस्कृत भाषा सबै भाषाको जननी र पहिलो भाषा हो, संस्कृत भाषाले जन्मेदेखि मृत्युसम्म गरिने संस्कारलाई पवित्र पार्ने काम गर्दछ । अभिभावक हीरा भण्डारीले संस्कृत भाषा सबै भाषाको जननी भएकोले विद्यालयले थालेको संस्कृत पठनपाठनका काम सरहानीय भएको प्रतिक्रिया दिए ।

विद्यालयको ५, ६ र ७ कक्षामा गरी झण्डै १०० छात्रछात्राले संस्कृत विषय अध्ययन गर्न थालेका छन् । अभिभावक र समाजबाट सकारात्मक प्रतिक्रिया आएमा आगामी दिनमा माथिल्लो कक्षामासमेत संस्कृत विषयको अध्ययन शुरु गर्ने योजना रहेको विद्यालयका संयोजक तपराज विनाडीले बताए ।

संस्कृत विषयको पठनपाठन संस्कृत विद्यालय, आश्रम र पीठहरुमा मात्र हुने गरेको छ । विद्यार्थीलाई संस्कृत विषयको पुस्तक निःशुल्क उपलब्ध गराउन पहल गरिएको संस्थापक अध्यक्ष शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्