वीरगञ्जमा गोली प्रहार गर्दै सन्तोष दासलाई प्रहरीले नियन्त्रणमा लियो



वीरगञ्ज : पर्सामा प्रहरीले गोली चलाएर एक जना युवकलाई नियन्त्रणमा लिएको छ । मंगलबार राति १० बजे वीरगन्ज १३ राधेमाई चौकमा चेकजाँच गर्ने क्रममा पैदल आइरहेका सन्तोष दास प्रहरीलाई देख्नासाथ पेस्तोल तेर्साउँदै भाग्दै गर्दा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक गौत्तम थापाले बताएका छन् ।

दासको दाहिने खुट्टामा एक गोली लागेको छ । हाल उनलाई प्रहरीको निगरानीमा वीरगन्जको नारायणी अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । उनको अवस्था अहिले समान्य छ ।

उनको साथबाट १ थान पेस्तोल र १७ राउण्ड गोली समेत बरामद गरेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

पक्राउ परेका दास विभिन्न अपराधिक गतिविधिमा संलग्न समेत रहेको प्रहरीले दाबी गरेको छ । दास यसअघि अपराधिक क्रियाकलापमा संलग्न भई एक मुद्दामा जेल सजाय काटेर आएका थिए ।

हालै वीरगञ्जको विर्ता र माईस्थानमा पटाखा पड्काई त्रासको वातावरण सृजना गरेर फिरौती रकम असुल्ने योजनामा दासको समेत संलग्नता रहेको प्रहरी श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्