बारा–पर्साका हुरी विस्थापितलाई सरकारद्वारा घर हस्तान्तरण गरिँदै



काठमाडौं : गत चैत्र महिनामा बारा र पर्सामा अकल्पनीय विनास मच्चाउँदै आएको हुरीबाट विस्थापित हुनपुगेका पीडित स्थानीयले बुधवार बासस्थानका लागि घर पाउने भएका छन् । वर्षाको झरीमा निकै दुःखका साथ पालमुनि जीवन गुजारा गरिरहेका हुरीपीडित स्थानीय जनतालाई नेपाली सेनाको जनता आवास कार्यदलद्वारा निर्मित घर हस्तान्तरण गर्न लागिएको हो । हुरी पीडितलाई स्थानान्तरण गर्नका लागि कार्यदलले बारामा ८०७ र पर्सामा ६२ वटा घर निर्माण गरी बुधवार हस्तान्तरण गर्न लागेको हो । वुधवार निर्मित घरहरुको साँचो हुरी पीडितहरुलाई हस्तान्तरण गरिने भएको छ ।

निर्मित घरहरुको साँचो हस्तान्तरणका लागि कार्यवाहक प्रम तथा रक्षामन्त्री ईश्वर पोखरेल बुधबार बिहानै बारा पुग्ने नेपाली सेनाले जनाएको छ । बारा र पर्सा दुई जिल्लाका हुरी पीडितहरुलाई संयुक्त रुपमा वीरगन्जमा आयोजित कार्यक्रममा साचो हस्तान्तरण गरिने कार्यक्रम रहेको बताइएको छ ।

बारा र पर्सामा चैत्र १७ गते आएको चक्रवाती हुरीले धनजनको ठूलो क्षति पुर्याएको थियो । हुरीले विनास निम्त्याएको पाँच दिनपछि अर्थात् चैत्र २१ गते मन्त्रिपरिषद् बैठक बसी हुरीपीडितका लागि सरकार आफैले घर निर्माण गरिदिने निर्णयसहित त्यसको जिम्मा नेपाली सेनालाई दिएको थियो । त्यस लगत्तै बारा र पर्सामा स्थलगत भ्रमणसहित नेपाली सेनाले बैशाख २१ गते हुरी पीडितका लागि घर निर्माण कार्यको शिलान्यास गरी कामको थालनी गरेको थियो । उक्त निर्माण कार्यका लागि १२ निर्माण समूह बनाई लगभग एक हजार सेना फिल्डमा खटिएका थिए ।

चैत्रमा एक्कासी आएको चक्रवाती हुरीले २९ जनाको ज्यान लिएको थियो भने एक हजारभन्दा बढी घरको छाना उडाएर र घर भत्काएर क्षति पु‍र्याएको थियो । केही विवाद र छुटपुटका कारण नाम संकलन हुन नसकेकाहरुको घर निर्माण हुन नसकेकाले पहिलो लटमा उनीहरुको घरको साचो हस्तान्तरण भने गरिने छैन । तर विवाद र छुटपुटका कारण घर पाउनबाट बञ्चित पीडितहरु भने हुरीको विनासलिलापछि निरन्तर पालको सहारामा दिन काट्दै आएका छन् । जानकारीमा आएअनुसार नाम छुटेकाको पनि नामावली संकलन गरी तिनका लागि दोस्रो चरणमा घर निर्माण कार्य थालनी गरिने छ ।

पीडितका लागि हाल निर्मित र हस्तान्तरित हुन गैरहेका प्रतिघर निर्माणको लागत ४ लाख ८५ हजार बताइएको छ । प्रति घर निर्माणका लागि सरकारले रु. पाँच लाख ४६ हजारका दरले रकम उलपब्ध गराएको थियो । निर्मित घरमा दुई कोठा, एक भान्सा, एक शौचालय र बरण्डा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्