फेक कलले कर्मचारी दिक्क : श्रममन्त्रालयको कलसेन्टरमा वैदेशिक रोजगारका गुनासा बढी, कार्यान्वयन कम



काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गरेको कलसेन्टरमा गत साउन मसान्तसम्म २४ हजार ३ सय २१ वटा कल आएको छ । श्रमिकका समस्या सुन्ने र त्यसको सुनुवाई गर्ने गरी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको व्यवस्थापनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलसेन्टर सञ्चालनमा ल्याएको हो ।

नेपालभित्रै तथा वैदेशिक रोजगारीमा विदेश पुगेका श्रमिकले आफू समस्यामा परेमा मन्त्रालयमा स्थापित कल सेन्टरमा फोन गरेर आफ्ना गुनासा टिपाउन सक्ने व्यवस्था गरिएको कल सेन्टरकी सुपरभाइजर सरिना महर्जनले बताइन् ।

साथै कलसेन्टरमा प्रधानमन्त्री रोजगार कार्यक्रमसँग सम्बन्धित जिज्ञासा र श्रमक्षेत्रमा श्रमिकले भोग्नुपरेका समस्या आउने गरेको उनले भनिन् । अन्य क्षेत्रको तुलनामा वैदेशिक रोजगारसँग सम्बन्धित गुनासो तथा समस्या बढी आएको उनको भनाइ छ ।

साउन महिनामा मात्र वैदेशिक रोजगारसम्बन्धी १ हजार १४ वटा कल आएको महर्जनले जानकारी दिइन् । यीमध्ये केही गुनासो सुनुवाई भएको छ भने कतिपय सुनुवाइको प्रक्रियामा रहेका छन् । कल सेन्टरमा आएका कलमध्ये वैदेशिक रोजगारीका नाममा ठगीमा परेका, विदेशमा अलपत्र भएका, मृतक नेपालीको शब झिकाउनु परेका, विरामी या घाइते भई स्वदेश फर्कन चाहेका तथा निःशुल्क कानुनी सहायता आवश्यक परेका जस्ता समस्या आएको उनले जानकारी दिइन् ।

२०७५ चैत्र १८ गतेबाट सुरुआत भएको कलसेन्टरलाई अझ व्यवस्थित बनाउन लागेको उनले सुनाइन् । उनले भनिन् ‘अहिले सम्मत सुरुआत नै भन्नुप¥यो हामीलाई पनि यो विषय नयाँ हो कस्तो समस्या आउलान्, सेवाग्राहीलाई कसरी सहजता प्रदान गर्न सकिन्छ भन्नेतिरै लाग्यौ अब भने अझ व्यवस्थित गरेर लैजादै छौँ ।’ साउन मसान्तसम्म आएका कलमध्ये ११ हजार ८ सय ५६ वटा समस्या कलसेन्टरबाट नै समाधान भएको जनाइएको छ । कुनै विषयको सामान्य जानकारी लिनका लागि समेत कलसेन्टरमा फोन आउने गरेको महर्जन बताउँछिन् ।

त्यस्ता सेवाग्राहीलाई आफूले तत्कालै कलसेन्टरबाट उनीहरुको जिज्ञासा मेटाउने गरेको र अन्य समस्या भए सम्बन्धित निकायकालाई जानकारी गराई समाधानको पहल सुरु गर्ने गरेको जानकारी दिइन् । साथै सम्बन्धित निकायले समस्या सम्बोधन गरे÷नगरेको विषयमा मन्त्री, सचिव लगायतका पदाधिकारीबाट नियमित अनुगमन हुने गरेको जानकारी दिइन् ।

फेक कल र नाम परिवर्तनले कलसेन्टर समस्यामा :-

स्वदेश तथा विदेशमा रहेका नेपालीले वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, वैदेशिक रोजगार बोर्डलगायत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका निकायका सेवा, कार्यक्रमबारे कुनै पनि जानकारी, सुझाव वा गुनासो गर्न सक्छन्, तर अहिले कलसेन्टरमा फेक कलको विगबिगी पनि उस्तै रहेको सुपरभाइजर महर्जनले बताइन् ।

उनले भनिन् ‘समस्यामा परेका व्यक्तिले कल गरे होलान् भन्ने लाग्छ उठाउँदा । ए सरी भन्छन् । कसैले त सानासाना बालबालिकालाई फोन दिने गर्छन् भने कतिले हेलो भनेपछि गीत सुनाइदिने गरेका छन् ।’ बारम्बार एउटै नम्बरबाट हुने यस्ता क्रियाकलाप रोक्न त फोन नम्बरलाई ब्लक गर्ने गरेको बताइन् । यसरी नम्बर ब्लक हुँदा कुनै दिन साच्चिकै समस्यामा पर्दा फोन नलागेर समस्या पर्ने भन्दै सचेत रहन आग्रह गरिन् । यस्तै विदेशमा समस्या भोगेका श्रमिकले आफ्नो ईमो र भाइबरमा नाम परिवर्तन गर्दा समस्या समाधान गर्न असहज भएको उनले बताइन् ।

‘विदेशबाट ईमो भाइबरबाट आउने समस्यालाई हामीले कहाँबाट कसरी आयो भनी रजिस्टर गरेर समाधानका लागि पहल थाल्न सम्बन्धित निकायमा पठाउँछौ, तर थप जानकारी लिन फोन गर्दा पहिले रजिस्टर गरेको नाम नै परिवर्तन भएको हुँदो रैछ । समस्या समाधान भइसकेपछि बुझ्न खोज्दा उहाँहरुसंग सम्पर्क नै हुँदैन । समस्या दर्ता गर्ने बेलामा एउटा नाम हुन्छ, पछि त चेन्ज हुन्छ’ उनले भनिन् । यस्तै गुनासा राखिसकेपछि उनले के भइरहेको छ भन्नेबारे जानकारी लिन समेत सबै गुनासोकर्तालाई आग्रह गरिन् ।

कलसेन्टरमा सम्पर्क यसरी गर्न सकिन्छ :-
गुनासो, सुझाव वा जानकारी दिनका लागि स्वदेशबाट भए कलसेन्टरको नम्बर ११४१ वा १६६००१५०००५ मा निःशुल्क रुपमा फोन गर्न सकिने छ । हाल केही समयका यो सेवा परीक्षणका लागि सञ्चालन गरिएको हो । परीक्षणकालमा नेपाल टेलिकमका प्रयोगकर्ताका लागि मात्र निःशुल्क गरिएको छ । बिदेशबाट भए इमेल, अबििअभलतभच२ाभउद।नयख।लउ, ख्ष्दभच वा इमो मार्फत् फोन वा म्यासेज गर्न +९७७१५९७०००८,  Facebook: facebook.com/molcallcenter, Twitteer:twitter.com/mol_callcenter  मा आफ्ना गुनासो राख्न सक्नेछन् । कल सेन्टरको सेवा हरेक दिन बिहान ७ : ० बजेदेखि बेलुका ९ : ० बजेसम्म उपलब्ध गराइने छ । सेवाग्राहीको मागलाई ध्यानमा राखी आउँदा दिनमा सेवा आवश्यकताअनुसार २४ घण्टा र निःशुल्क गराउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्