प्रदेश २ सरकारका मन्त्री रायको राजीनामा माग गर्दै पुतला दहन



बारा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको युवा तथा विद्यार्थी संगठनले मंगलबार प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायको पुतला जलाएका छन् ।

बारा अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने अभिव्यक्ति दिएपछि कलैयामा मन्त्री रायको पुतला जलाउँदै उनको विरोध गरिएको हो । कलैयाको मुख्य चौकमा उनीहरुले मन्त्री रायको पुतला जलाउँदै राजीनामा समेत माग गरेका छन् ।

नेकपा बाराका सदस्य तथा युवा नेता मुकेश साहले जसरी पनि बारा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनै पर्ने बताए । संघीय सरकारको बजेटमा निर्माण हुन लागेको बारा अन्तर्राष्ट्रिय विमान स्थल बन्न नदिने मन्त्री रायको अभिव्यक्तिले प्रदेश २ सरकार विकास विरोध रहेको प्रष्ट भएको उनले बताए ।

विरोधमा उत्रेका युवा विद्यार्थी नेताहरुले प्रदेश २ सरकार मुर्दावाद, मन्त्री राय राजीनामा दे, बारा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर, विकास विरोधी मन्त्री मुद्र्धावाद जस्ता नारा लगाएका थिए ।

विद्यार्थी नेता ईमरान आलमका अनुसार नेकपा प्रदेश २ का सदस्य जितेन्द्र तिवारी, नेकपाका नेताहरु धु्रव यादव, रामदिनेश यादव, आबिद अंसारी, कौसल सिंह लगायतको सहभागितामा विरोध प्रदर्शन भएको छ ।

मन्त्री रायले बारा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि रुख काटन नदिने र बारामा बन्न नदिने अभिव्यक्ति दिएपछि चौतर्फी विरोध सुरु भएको छ ।

मन्त्री रायले पछिल्लो समय बारा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रुख कट्न नदिने र स्थान परिवर्तन गर्नका लागि संघीय सरकारलाई प्रस्ताव गर्ने अभिव्यक्ति दिएपछि उनको विरोध गर्दै राजीनामा समेत माग गरिएको छ ।

तीन दशकअघि प्रस्ताव गरिएको र शिलान्यासको अन्तिम चरणमा रहेका बेला विवादित अभिव्यक्ति दिएको प्रदेश सरकारको समेत विरोध सुरु भएको छ ।

हालै नवनियुक्त संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले सरकारको उच्च प्रथामिकतामा रहेको बारा अन्तर्राष्ट्रिय विमानस्थलको यसै वर्षको मंसिरमा शिलान्यास गरिने उदघोष गरेका छन् ।

प्रदेशसहित देशकै समृद्धिसँग जोडिएको महत्वपूर्ण आयोजनाका बारेमा गैरजिम्मेवार तरिकाले अभिव्यक्ति दिएपछि त्यसको चौतफी विरोध भएको छ ।

मुलुकको समृद्धिसँगै प्रतिष्ठासँग जोडिएको आयोजनालाई प्रदेश सरकारले सहयोग गर्नुपर्ने पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले बताए । राष्ट्रिय गौरबका आयोजनाका बिषयमा हचुवाको भरमा अभिव्यक्ति दिँदै हिडेपछि मुलुकलाई समृद्ध बनाउन नसकिने उनले बताए ।

‘प्रदेश सरकार आफू पनि केही काम नगर्ने, संघीय सरकारले अघि सारेको योजनालाई विफल पार्न अग्रसर हुने’ पूर्वमन्त्री पौडेलले भने,‘यस्तो षड्यन्त्र हामी हुन दिने छैनौ, विमानस्थल प्रस्तावित स्थलमै बनाउनुपर्छ त्यसका लागि प्रदेश सरकारले भुमिका खेल्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्