ग्यास सिलिण्डर पड्कँदा चार घर नष्ट



धादिङ : जिल्लाको विस्थापित बस्ती रहेको नीलकण्ठ नगरपालिका– १२ भदुवारमा आज (शुक्रबार) बिहान ग्यास सिलिण्डर पड्किँदा चार घर जलेर नष्ट भएको छ ।

लापाबाट विस्थापित भएका र भदुवारमा सहयोगीले निर्माण गरिदिएको एक घरमा चिया पकाउन लाग्दा चुहावट भएको ग्यास सल्केर आगलागी भएको र ग्यास सिलिण्डर विस्फोट भएको हो ।

ग्यास सिलिण्डर विस्फोटबाट च्याङ्बा तामाङ र दमाइ तामाङको घर जलेर पूर्णरुपमा नष्ट भएको उद्धारमा संलग्न राजकुमार भण्डारीले बताए । यससँगै रहेका अन्य दुई घरमा पनि आंशिक क्षति पुगेको छ ।

वृद्धवृद्धा मात्र बस्ने घरमा ग्यास चुहावट भई आगलागी भएको र सोही ग्यास सिलिण्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए । (रासस)

प्रतिक्रिया दिनुहोस्