एसिड प्रहार गर्ने माजिदलाई कारबाहीको माग गर्दै वीरगञ्जमा विरोध प्रदर्शन



वीरगञ्ज : कक्षा ९ मा अध्ययनरत छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार गर्ने दोषीलाई कारवाहीको माग गर्दै वीरगञ्जका युवाहरुले प्रदर्शन गरेका छन् । उनलाई शुक्रबार बिहान ६:३० बजे विद्यालय जाने क्रममा माजिद मिया हजामले एसिड प्रहार गरेका थिए ।

युवा नेता शेख मुन्नाको अगुवाइमा युवाहरुको एक समुहले वीरगञ्जको घण्टाघर चौकमा शुक्रबार दिउँसो प्रदर्शन गरेका हुन् ।

उनीहरुले एसिड पीडित खातुनको दोषीलाई कडा कारवाही गर्नु पर्ने, महिला दिदीबहिनीहरुको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, फरार दोषीलाई यथाशिघ्र पक्राउ गरी कारवाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शन पश्चात् आयोजित कोणसभामा बोल्दै समाजिक अभियान्ता ओम प्रकाश सरार्फले दोषीलाई हदैसम्म कारवाही हुनुपर्ने माग गरे । उनले प्रदेश २ मा प्रदेश सरकारले लागू गरेको ‘बेटी पढाउ बेटी बचाउ’ अभियान प्रभावकारी नभएका कारण महिला हिंसा बढ्दै गएको आरोप लगाए ।

अभियानको गलत नीतिका कारण अझै महिला, बालिका हिंसामा पर्दै गएको हुनाले प्रदेश सरकारले लागू गरेको ‘बेटी पढाउ बेटी बचाउ’ अभियानको नीति मै परिवर्तन गर्नुपर्ने उनले बताए ।
त्यस्तै राजपाकी महिला नेतृ रम्भा मिश्र, कांग्रेसकी सुस्मा तिवारी, देशभक्त लोकतान्त्रिक पार्टी जलेश्वर सरार्फ, समाजिक अभियान्ता मोनिका सिंह लगायतले एसिड प्रहार घटनाको कडा रुपमा निन्दा गर्दै दोषीलाई कारवारहीको माग गरे ।

घटनामा समलग्न वीरगञ्ज २ छपकैयाकै सम्साद मिया हजामलाई प्रहरीले पक्राउ गरी सकेको छ भने घटनाको मुख्य दोषी माजिद भने फरार रहेका छन् ।

फरार माजिदलाई पक्राउ गर्न प्रहरी परिचालन गरि सकेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्