‘दउवासङ्घ’मा श्रेष्ठ विजयी



दमक : यहाँस्थित दमक उद्योग वाणिज्य सङ्घको निर्वाचनमा संयुक्त लोकतान्त्रिक समूहले प्रगतिशील व्यवसायीलाई हराउँदै जित हासिल गरेको छ ।

आज बिहान मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्षसहित विभिन्न ११ पदमा लोकतान्त्रिक विजय हासिल गरेको छ भने प्रगतिशील समूहले एक पदाधिकारी, एक लेखा संयोजक गरी १० पद जितेको छ । अध्यक्ष, लेखा संयोजकसहित विभिन्न २१ पदमा दुई स्वतन्त्र गरी ४४ उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धी थिए ।

अध्यक्षमा प्रगतिशील समूहका विमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिकका उम्मेदवार गोकुल श्रेष्ठ विजयी बने । उनले एक हजार ४११ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी खतिवडाले ९१६ मत प्राप्त गरे । अध्यक्षमा ४९५ मतान्तर रह्यो ।

पदाधिकारीमा वरिष्ठ उपाध्यक्षबाहेक सबै पदहरूमा लोकतान्त्रिक व्यवसायी समूहका व्यवसायी निर्वाचित भएका छन । वरिष्ठ उपाध्यक्षमा एक हजार २७६ मत ल्याएर प्रगतिशीलका गोपाल गुरागाईं विजयी बने । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिकका सुरज आचार्यले एक हजार २१ मत प्राप्त गरे ।

त्यसैगरी प्रथम उपाध्यक्ष लोकतान्त्रिककै राजु खड्काले एक हजार २०९ मत प्राप्त गरी विजयी बने । उनका प्रतिद्वन्द्वी प्रगतिशीलका युवराज घिमिरेले एक हजार ७३ मत प्राप्त गरेका थिए । यस्तै द्वितीय उपाध्यक्षमा लोकतान्त्रिककै राजकुमार योङयाले एक हजार १२ मत ल्याई विजयी भए भने उनका प्रतिद्वन्द्वी प्रगतिशीलका घनश्याम खनालले ९०६ र स्वतन्त्र उम्मेदवार टीकाराम प्रसाईंले ३५५ मत प्राप्त गरेका थिए ।

यस्तै, तृतीय उपाध्यक्षमा लोकतान्त्रिककै रमा लिम्बु (१२०२) विजयी बने । उहाँले प्रगतिशीलका ज्ञाननाथ पौडेललाई पराजित गरेका हुन । पौडेलले एक हजार ६१ मत प्राप्त गरेका थिए । खुला दुई महिला सदस्यमा लोकतान्त्रिककी सुष्मा निरौला र प्रगतिशीलकी लक्की सिटौला विजयी बनेका छन ।

वस्तुगततर्फ लोकतान्त्रिक समूहबाट दुई र प्रगतिशीलबाट तीन विजयी भएका छन् । लोकतान्त्रिकबाट मोहन ढकाल र रुबल अधिकारी विजयी भए भने प्रगतिशीलका गायत्री पौडेल, राजेश अधिकारी र दिनेश सुवेदी विजयी बने ।

यसैगरी ६ खुला सदस्यतर्फ चन्द्र खत्री, तुलसीराम तिम्सिना, नवीन अग्रवाल, असिम राई, भरतकुमार चम्लागाईं , राजकुमार थापा विजयी भएका छन ।

यसैगरी, पाँच सदस्यीय वस्तुगतमा मोहन ढकाल, रुबल अधिकारी, गायत्री पौडेल (सन्तोष), दिनेश सुवेदी, राजेश अधिकारी तोया निर्वाचित भएका छन् । तीन सदस्यीय लेखातर्फ संयोजकमा खोमप्रसाद बगाले, सदस्यमा कृष्णराज दाहाल र मोहन मागर मिन विजयी बनेका निर्वाचन समितिका सदस्य कृष्ण कार्कीले जानकारी दिए ।

सङ्घको तीन वर्षे कार्यकालको गत शुक्रबार भएको निर्वाचनमा दुई हजार ६८० मध्ये दुई हजार ३३० मत खसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्