प्रधानसेनापतिले मुख खोल्दा आईजिपीद्वयलाई फसाद



काठमाडौं : आफू नियुक्त भएको एक वर्ष पूरा गरेको अवसरमा आफ्नो एक वर्षे उपलब्धी सुनाउँदै प्रधान सेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

प्रधानसेनापति थापाले सम्पति सार्वजनिक गर्दै ५५ तोला सुन र २४ लाख नगद भएको जानकारी गराएका हुन् । थापाले श्रीमती दिपा थापा र छोरी रुरु थापाको नाममा रहेको सम्पत्ति पनि सार्वजनिक गरेका छन् । थापासँग ५५ तोला सुन, ५९० तोला चाँदी र करीब १० लाख रुपैयाँमा खरिद गरेको हिराको हार र औंठी रहेको विवरण सार्वजनिक गरेका छन् ।

आफू र आफ्नो परिवारको नाममा रहेको चल–अचल सम्पत्ति उनले मंगलबार सार्वजनिक गरेका छन् । उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) को प्रयोजनका लागि भन्दै सम्पत्ति विवरण सार्वजनिक गरेको बताएका छन् ।

थापाले काठमाडौं, लम्जुङ, नवलपरासीलगायतका स्थानमा रहेको जग्गाको विवरण, सुन, चाँदी र हिराका गहना, बैंक, वित्तीय संस्थामा रहेको नगद, धितोपत्र, शेयरसहित बैंकबाट लिएको ऋणको पनि विवरण खुलाएका छन् । आफूले स्वेच्छाले सम्पत्ति विवरण सार्वजनिक गरेको उल्लेख गर्दै नेपाली सेनाका उच्च अधिकारीलाई स्वेच्छिक रुपमा सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह समेत गरेका छन् ।

प्रधानसेनापतिले यसरी पहिलो पटक सम्पति विवरण सार्वजनिक गरेका हुन् । थापाले आफ्नो सम्पत्ति सार्वजनिक गरेपछि नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजिपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजिपी) शैलेन्द्र खनाललाई पनि सम्पति सार्वजनिक गर्न दवाव परेको छ ।

प्रतिक्रिया दिनुहोस्