चिनिया राष्ट्रपति सी आउँने ओलीको ब्रिफिङ



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले स्थानीय निकाय, प्रदेश र संघमा रिक्त स्थानमा हुने उप निर्वाचनको लागि दल दर्ता गराउने निर्णय गरेको हो ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको बताए । दल दर्ता सम्बन्धी सम्पुर्ण काम गर्न महासचिव बिष्णु पौडेललाई जिम्मेवारी दिईएको छ । दर्ता भएको दलहरुको रेकर्डमा नेपाल कम्युनिस्ट पार्टी भन्ने दल नरहेकोले दल दर्ता गराउने निर्णय भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी कोष्ठ भित्र नेकपा लेखिने गरि निर्वाचन आयोगमा दर्ता भए पनि यो दलले निर्वाचनमा भाग लिएको छैन। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ नयाँ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि दल दर्ता गराउनु परेको हो।

निर्वाचन आयोगले उपनिर्वाचनको लागि नयाँ दलहरुका लागि भदौ मसान्त सम्मको समय तोक्दै सूचना प्रकाशित गरिसकेको छ।

यस्तै बैठकमा पार्टी एकताका बाँकी काम अगाडि बढाउने बिषयमा सामान्य छलफल भए पनि कुनै निर्णय नभएको प्रवक्त श्रेष्ठले बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ चाँडै नै नेपाल भ्रमणमा आउने जानकारी गराए । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण राष्ट्रपति सी जिनपिङको भ्रमणको तयारीका लागि भएको बैठकमा जानकारी गराए ।

‘चिनियाँ विदेशमन्त्रीको भ्रमण नै राष्ट्रपति सीको भ्रमणको तयारीका लागि भएको हो, राष्ट्रपति सी चाँडै नेपाल आउने अपेक्षा गरेका छौं’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै एक सचिवालय सदस्यले भने ।

तीन दिने नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङ मंगलबार बेइजिङ फर्केका छन्।नेपाल भ्रमणको क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता शेरबहादुर देउवासँग छुट्टाछुट्ट भेटवार्ता गरेका थिए।

त्यसैगरी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग द्वीपक्षीय वार्ता समेत भएको थियो । भेटवार्तामा नेपालको तर्फबाट वाङलाई राष्ट्रपति सीको भ्रमणको तयारी पूरा भएको ब्रिफिङ भएको थियो।

चीनका विदेशमन्त्री वाङ फर्केको भोलिपल्ट प्रधानमन्त्री ओलीले पार्टी सचिवालयमा गरेको ब्रिफिङबाट अब राष्ट्रपति सीको नेपाल भ्रमण सुनिश्चित भएको ठानिएको छ।

बैठकमा प्रधानमन्त्री ओलीले भारतसँगको पेट्रोलियम पाइपलाइनको उद्घाटन, सिंगापुरमा भएको आफ्नो उपचारसहितका विषयमा सचिवालयलाई जानकारी गराएका थिए।

मंगलबार नेपाल भारत अन्तरदेशिय पेट्रोलियम पाइपलाइनको प्रधानमन्त्री ओलीले काठमाडौं र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट एकसाथ उद्घाटन गरेका थिए। यो दक्षिण एशियाको पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन हो।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो नभएको भन्दै बुधबारको बैठक छोट्याइएको सचिवालय सदस्यहरूले बताएका छन्।

‘प्रधानमन्त्री ओली अझै पूर्ण रुपमा ठिक भैसक्नु भएको छैन, पछिल्ला केही विषयमा जानकारी गराएर अन्य विषयमा प्रवेश नै नगरि बैठक सकियो,’ सचिवालय ती सदस्यले भने।

सिंगापुरमा उपचार गराएर प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि बुधबार पहिलो पटक सचिवालयको बैठक बसेको हो। ओलीकै अध्यक्षतामा बसेको बैठकमा माधवकुमार नेपालसहितका नेताहरु उपस्थित भएका थिए।

‘बाहिरबाट हेर्दा माधवकुमार नेपाल र ओलीबीच सम्बन्ध राम्रो नभएको जस्तो देखिन्छ तर भित्र त्यस्तो समस्या छैन, सम्बन्ध सौहाद्रपूर्ण नै छ’, सचिवालयका एक सदस्यले भने, ‘दुवै नेताहरु छलफलमा सहभागी हुनु भएको थियो र बोलचाल पनि भयो।’

प्रधानमन्त्री ओली र नेता नेपालबीच भदौ ५ गतेको बैठकमा चर्काचर्की भएको थियो।

प्रतिक्रिया दिनुहोस्