पूर्वराजासँग कोइरालाको डिनर मिटिङ्ग, गौतमको भेट !



काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई थाइल्याण्डमा भेटवार्ता गरेको चर्चा सेलाउन नपाउँदै नेकपाका प्रभावशाली नेता बामदेव गौतमले पूर्व राजालाई भेटेको व्यापक चर्चा छ ।

संघीय गणतान्त्रिक व्यवस्थामाथिनै ग्रहण लगाउने गरी विभिन्न तत्वहरु सलवलाइ रहेका बेला नेकपाका नेता गौतम र कांग्रेस महामन्त्री कोइरालाले पूर्व राजालाई भेट्नु आश्चर्यको विषय बनेको छ । अर्को रोचक प्रसंग त के छ भने पूर्वराजाकी बुहारी हिमानी शाहले खोलेको हिमानी ट्रष्टलाई जापानको राजसंस्थाले आर्थिक सहायता गरिहेको छ । त्यसमाथि भारत र चीन पनि पछिल्लो दिनमा हिन्दू धर्मको सन्दर्भमा सकारात्मक देखिदै गरेकका बेला नेताहरुले पूर्वराजालाई भेट गरेको विषयले नेपाली राजनीतिमा नयाँ तरंग ल्याइदिएको छ ।

नेपाली कांग्रेस भित्र नेपाललाई हिन्दु राष्ट्र बनाउने विषय पेचिलो बन्दै गएको छ । कांग्रेसभित्र नेपाललाई हिन्दू राष्ट्र बनाउने बहस महामन्त्री कोइरालाले प्रवेश गराएका छन् । कोइराला यो विषयमा आफ्नो अडानलाई सार्वजनिक गर्दै पनि आएका छन् । यससँगै पूर्वराजाको प्रसंगले पनि कांग्रेस केन्द्रीय कमिटीको बैठकमा प्रवेश पाएको छ । महामन्त्री कोइराला र पूर्वराजाबीचको भेटघाटमा हिन्दू धर्मको पुनस्थापनाको मुद्दामा छलफल भएको स्रोतको दाबी छ । थाइल्याण्डमा पूर्वराजा र कोइरालाबीच डिनर मिटिङ्ग भएको स्रोतले बताएको छ ।

केही दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलिय बैठकमा समेत व्यवस्थामै परिवर्तन हुन लागेको जस्तै गरी नेताहरुले छलफल गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय गणतान्त्रिक व्यवस्थामाथि हमला भइरहेको बताउँदै यसको संरक्षण र जर्गेनाको निम्ति सबै दलहरु एक जुट हुन आह्वान गरेका थिए ।

उच्चस्रोतका अनुसार नेकपा नेता गौतमले केही दिन अगाडी पूर्वराजा थाइल्याण्ड भ्रमण सकेर नेपाल फर्किएलगत्तै भेटवार्ता गरेका थिए । त्यसअघि गौतमले पूर्वराजाका निजी सचिव पशुपतिभक्त महर्जनसँग भेटवार्ता गरेको चर्चा छ ।

गत भदौ १६ गते सोमबार गौतम र महर्जनबीच भेटवार्ता भएपनि आधिकारी रुपमा सार्वजनिक भएको छैन । भेटवार्तालाई गोप्य राख्ने सहमती पनि भएको बताइन्छ । उक्त भेटवार्तामा समसामयिक राजनीतिकका विषयमा लामै छलफल भएको बुझिएको छ ।

केही समयअघि उपप्रधानमन्त्री तथां रक्षा मन्त्री रहेका नेकपाका नेता ईश्वर पोखरेलले पनि पूर्वराजासँग भेटघाट गरेको चर्चा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्