सांसद जुरुक्क उठ्दा सभामुख थचक्क !



काठमाडौं : नयाँबानेश्वरस्थित संसद भवनभित्र प्रतिनिधिसभाको बैठक बस्ने तयारी हुँदै थियो । बाहिर जम्मा भएका सांसदहरु डेंगुको प्रकोपका विषयमा कुराकानी गरिरहेका थिए ।

सांसदहरु तपाईंलाई त डेंगु लागको छैन भन्दै एक–अर्कामा प्रश्न सोझाइरहेका थिए । डेंगु नियन्त्रणमा सरकारले प्रभावकारी ढंगले काम नगरेको र स्वास्थ्य मन्त्रालय गैरजिम्मेवार बनेको भन्दै सत्तापक्षका सांसदहरु आक्रोशित देखिन्थे ।

सत्तापक्षकै सांसद एवं पूर्व स्वास्थ्यमन्त्री वर्तमान स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नालायकिपनको तीव्र विरोध गरिरहेका थिए भने सांसद कृष्ण गोपाल श्रेष्ठ सरकारको यो गैरजिम्मेवारिपन भन्दै आक्रोशित थिए । उनी भन्दै थिए, आज सरकारको दोहोलो काढिन्छ । सांसदहरुले संसद भवन परिसरमा डेंगुको चर्चा गरिरहँदा संसद बैठक सुरु भएको जनाउ दिँदै घण्टी बज्यो र सबै भित्र पसे ।

आज (बिहीबार)को प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रतिपक्षी दलका सांसदरु भन्दा एक कदम अगाडि बढेर सरकारको आलोचना गरे । यसरी आलोचना गर्नुको विाषय थियो, डेंगु रोग ।

नेकपा सांसद कृष्णगोपाल श्रेष्ठले सरकार र स्वास्थ्यमन्त्री गम्भिर नभएको भन्दै आक्रोश पोखे । बैठकमा उनले भने, ‘डेंगु–डेंगु भन्दैमा थाकिसकियो । डेंगुको सरोकारमा सरकार बोल्दैन । अमेरिकाको सरकारले बोलिदियो । नेपालमा डेंगु आतंक छ नजानु, भएका अमेरिकी नागरिक नेपालमा सचेत रहनु । यो भन्दा लाजमर्दो के हुन्छ सभामुख महोदय ?’

उनले तत्काल सभामुखले रुलिङ गरेर स्वास्थ्यमन्त्रीलाई संसदमा बोलाएर सरकारको आधिकारीक धारणा प्रस्तुत गर्न लगाउन आग्रह गरे ।

यस्तै नेकपाकै सांसद खगराज अधिकारीले पनि डेंगु रोग हो कि महामारी हो त्यसमा स्पष्ट पार्न माग गरे । उनले डेंगुविरुद्ध स्वास्थ्य संकटकाल घोषणा गरेर जाने बताए । उनले भने–‘यो रोग प्रकोप हो भने इपिडिमियोलोजी महाशाखा के सुतेर बसेको हो ? स्वास्थ्य मन्त्रालय सुतेर बसेको हो ? जनतामा यो भय र आतंक तुरुन्त रोक्ने काम गर्नुप-यो ।

सत्तारुढ दलका सांसद श्रेष्ठ आक्रोशित हुँदै बैठकमा बोल्दा सभामुख कृष्णबहादुर महरा भने उठ्दै बस्दै गरेको दृश्य रोचक देखिन्थ्यो । सायद सभामुखलाई सत्ता पक्षकै सांसद सरकार विरुद्ध यसरी खरो ढंगले उत्रिएको मन परेको थिएन ।

बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले स्वास्थ्यमन्त्रीको राजीनामा समेत मागेका छन् । उनले स्वास्थ्यमन्त्री, प्रधानमन्त्री समेत गम्भीर नभएको भन्दै डेंगु नियन्त्रण गर्न संकटकाल घोषणा गरेर जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्